कास्की काँग्रेस निर्वाचन केन्द्रीत

पोखरा, असोज ४ ।
नेपाली काँग्रेस कास्कीले आउँदो निर्वाचन केन्द्रीत भएर छलफल शुरु गरेको छ । बुधबारको बैठकले केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार नै निर्धारित समयमा उम्मेद्वार सिफारिस गर्ने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकले असोज १३ गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारको नाम जिल्लामा सिफारिस गर्न क्षेत्रीय कार्य समितिहरुलाई निर्देशन दिएको छ । त्यस्तै, नेपाली काँग्रेसले कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम केन्द्रीय परिपत्र अनुसार एकैदिन कास्कीका ६ वटै प्रदेश क्षेत्रमा गर्ने निर्णय गरेको छ ।
कार्यक्रमको आवश्यक व्यवस्थापन गर्ने जिम्मेवारी क्षेत्रीय कार्यसमितिहरुलाई दिइएको छ । पार्टी सभापतिले आमन्त्रित जिल्ला सदस्यमा मादी गाउँपालिका सैमराङका प्रेम तामाङलाई मनोनित गरेको निर्णय बैठकले अनुमोदन गरेको छ । बैठकले बिरामी अवस्थामा रहेकी कास्की काँग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।