कास्की एमालेमा विवाद, नेपालपक्ष रिङ आउट

पोखरा, असोज २० ।
उम्मेदवार छनौटमा पक्षपात गरिएको भन्दै केही नेताहरुले असन्तुष्टी जनाएका छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको उनीहरुको तर्क छ । सांसदहरु सीता गिरी वली र तुल बहादुर गुरुङले लिखित रुपमा निवेदन नै दिएर असहमति जनाएका छन् । उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिएपनि आँफु चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छिन् । ‘केन्द्रले सहमतिमा नाम सिफारिस गर्न भनेको हो । यहाँ भोटिङ भनेर मलाई पाखा लगाईयो, उनले भनिन्–यहाँ त सुरुमै तगारो लगाउने काम भयो । पार्टीको प्रदेश र केन्द्रको पनि ध्यानाकर्षण हुनुपर्छ ।’
अर्का सांसद तुल बहादुर गुरुङले आफ्नो सहमति बिना उम्मेदवार सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन् । उनले लिखित निवेदन नै बुझाएर निर्णय सच्याउन माग गरेका हुन् । ‘एउटा विचारमा आस्था राख्नेलाई किनारा लगाएर सिफारिस पठाईएको छ । यो सरासर नियोजित हो, उनले भने–पार्टीको निर्णय प्रजातान्त्रिक हिसावले कार्यान्वयन हुनुपर्छ । तर कसैलाई सिध्याउनका लागि निर्देशन लादियो, पार्टीभित्र अचाक्ली भो ।’
माधव कुमार नेपाल पक्षधर नेताहरुलाई बाईपास गरेर उम्मेदवार सिफारिस गरिएको एमालेभित्रै गुनासो बढ्न थालेको छ । वली र गुरुङसँगै शान्त नेताका रुपमा छवी बनाएका र लामो समय एमालेको राजनीतिमा निरन्तर लागेका नेता श्रीनाथ बराल पनि सिफारिसको नाम लिष्टबाटै आउट भएका छन् । तीनैजना नेताहरु भोटिङबाट पराजीत भएको सिफारिस समितिले जनाएको छ । यद्यपी भोटिङको नाममा जबरजस्त गरेको उनीहरुको आरोप छ । तीनै नेता एमालेभित्र नेपाल पक्षका मानिन्छन् । ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पु¥याएको एमाले नेताहरु नै बताउँछन् ।