कास्की उपनिर्वाचनमा गाडी कसरी चल्छन् ?

पोखरा, मंसिर १३ ।
शनिबार हुने उपनिर्वाचनका लागि कास्की २ का सहायक सडकहरुमा गाडी गुड्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गरेर गाडी सञ्चालनमा रोक लगाउने जनाएको हो । निर्वाचन अवधिभर राजमार्गमा प्रत्येक ३ घण्टामा स्कर्टिङ गरेर गाडी पास गरिनेछ । १३ गते राति १२ बजेदेखि १४ गतेसम्म निर्वाचन सम्पन्न नहुँदासम्म निर्वाचन हुने क्षेत्रमा सवारी चलाउन पाईंदैन ।

एम्बुलेन्स, दमकल, खानेपानी, शववहान, दुरसञ्चार, विद्युत, अस्पताल सेवा र निर्वाचन पास लिएका गाडीलाई भने कुनै रोक लगाईएको छैन । निर्वाचन हुने क्षेत्र हुँदै अर्को जिल्लामा जाने सवारी साधनलाई विशेष ब्यवस्था गरिएको प्रशासनले जनाएको छ । पूर्वमा विजयपुर, पश्चिम उत्तरमा यम्दी पुल, दक्षिण पश्चिमा कालीमाटी खोलमा सवारी रोकी प्रत्येक ३ घण्टामा स्कर्टिङ गरेर पार गराईने र बीचमा यात्रु चढाउन र ओह्राल्न नपाईने नियम छ ।

प्रशासनले यो अवधिमा अपरिचित व्यक्तिहरुको प्रवेश, गतिविधि र शंकास्पद व्यवहार देखिएका पनि प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यो निर्वाचन क्षेत्रमा ३ वटा राजमार्ग पर्छन् । पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग कास्की २ लाई छोएर गएको छ । पोखरा महानगरका ११ वटा वडामा हुने चुनावको मौन अवधि सुरु भइसकेको छ । चुनावका लागि आजदेखि नै विद्यालयहरु बन्द गरिएका छन् ।

File Photo