कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

पोखरा, चैत ५ ।
जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ ३० हजार घूसहित उनलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा ५, पस्र्याङको एक मदिरा पसलमा मुद्दाको पक्षसँग घूस वापत ३० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार पोखराले जनाएको छ ।

घटनाबारे थप विवरण संकलन गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । पर्वत जिल्लाको साविक कटुवाचौपारी (हाल कुष्मा) नगरपालिकाका पराजुली विवादित छविका मानिन्थे ।

उनले संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने प्रलोभन देखाउँदै सुरुवातमा ५० हजार घूस मागेकोमा बार्गेनिङ हुँदा ३० हजार लिने सहमति जनाएका थिए ।