कास्कीमा ३२ हजार मतदाता थपिए

पोखरा, असोज ४ ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गएको साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा ती नयाँ मतदाता थपिएका हुन ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी मतदाता नामवली संकलन गरिएकोमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका थिए । संकलन भएका कूल मतदातामध्ये ७३ जिल्लाबाट पोखरा आई विभिन्न पेशा र व्यवसाय गरेका ७ हजार १२६ जनाले नाम दर्ता गराएकोमा उनीहरुको नामावली सम्बन्धित जिल्लामा पठाइएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
त्यस्तै मतदाता नामावलीमा दोहोरो नाम, उमेर नपुगेका, मृत्यु भएकाको नाम हटाउँदा जिल्लाको कूल मतदाता नामावली दुई लाख ५६ हजार ४०१ कायम भएकोे छ । गत असार मसान्तसम्म जिल्लाको कुल मतदाता संख्या दुई लाख २४ हजार ८११ थियो । कूल मतदातामध्ये पुरुष एक लाख १९ हजार ५१६ र महिला एक ३६ हजार ८८१ छन् ।