कास्कीमा विश्वकै सबैभन्दा होचो हिमताल, पर्यटकको आकर्षण बढ्दो

पोखरा, कार्तिक २९ ।
संसारकै होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको उत्तरपूर्वी भागमा अवस्थित कफुचे हिमताल आन्तरिक पर्यटक माझ पछिल्ला वर्षहरुमा आकर्षणको गन्तव्य बन्न थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले २०७४ को पुस महिनामा ताल पुग्ने पदयात्रा मार्ग औपचारिक रुपमा प्रवद्र्धन गरेपछि यस क्षेत्रले लोकप्रियता पाउन थालेको हो ।

ताल प्रचारमा आउन थालेपछि कफूचे जान चाहने नेपालीको संख्या ह्वात्तै बढेको सिक्लेस स्थित नमस्ते गेष्ट हाउसका संचालक धन गुरुङ (माइला) ले जानकारी दिए । सञ्चार माध्यममा समाचार तथा तस्वीर र युट्युवमा कफुचे सम्बन्धी भिडियो पोष्ट हुन थालेपछि त्यस्तो आगमन झनै बढेको उनको अनुभव छ । तर ताल पुग्ने पर्यटकको तथ्यांक भने राख्ने गरिएको छैन ।

कफुचे पुग्ने पदयात्रा मार्ग भने उति सहज नभएको स्थानीयले बताए। टान, एक्यापलगायत पर्यटन सम्बद्ध सरकारी तथा गैरसरकारी संस्थाले बाटो सुधार गर्न पहल गर्नुपर्ने सुझाव उनको छ । ताल समु सतहबाट दुई हजार चार सय ५० मिटरको उचाइमा अवस्थित छ । हिमतालले पर्यटनको अथाह संभावना बोकेका कारण तत्कालिन समयमा ताल र सो मार्गको प्रबद्र्धन गरिएको टानका निवर्तमान अध्यक्ष दीपकराज अधिकारी बताउँछन् । अधिकारी टानमा अध्यक्षको जिम्मेवारीमा हुँदा यो मार्गको प्रवद्र्धन गरिएको हो ।

पोखरा महानगरपालिकाको दीपबाट पदयात्रा सुरु गरी अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै एक हप्ताको यात्रापछि कफुचे पुग्न सकिन्छ । तर लामो पदयात्राका लागि कम समय हुनेहरु मोटरबाटोबाट सीधै सिक्लेस पुगी पदयात्रा सुरु गर्ने गरेका छन् । सिक्लेसबाट सात घण्टामा हुगु गोठ र त्यसपछि एक घण्टामा ताल पुग्न सकिन्छ ।

पदमार्गमा पर्ने गाउँ, पानीका स्रोत, झरना, भन्ज्याङलगायतलाई समेटेर टानले एक नक्सासमेत तयार पारिसकेको छ। पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृंखलाको दृश्य, कोटहरू, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो ।

टान पश्चिमाञ्चल संघ पोखराले रजत महोत्सवको अवसरमा एक्याप र मादी गाउँपालिकाको सहयोग तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सो पदमार्ग खोज कार्य गरेको हो । क्याम्पिङ र होमस्टेमा आधारित यो पद मार्गलाई १० दिनमा विस्तार गरी कास्कीको मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको व्यवसायीले बताएका छन् ।

कतिपय गाउँलेले भर्जिन आइस लेक नाम दिएको कफुचे हिमतालमा पछिल्ला वर्षहरूमा विदेशी पर्यटकसमेत केही मात्रामा पुग्ने गरेका छन् । कास्कीको थाकबाट तारा हिल खण्ड र सिक्लेसबाट कफुचे ताल खण्डको बाटो मर्मत सम्भारको आवश्यकतासमेत स्थानीयले औंल्याएका छन् ।

गुरुङ लवजमा क्हफुचे समेत भनिने यो तालको नामाकरणमा ‘क्ह’ भनेको हिउँ, ‘फू’ भनेको झर्नु र ‘चे’ भनेको समतल मिलेर बसेको भन्ने अर्थ लाग्ने थाक गाउँका व्यवसायी विकास गुरुङले बताए। यो ताल मादी नदीको प्रमुख जलाधारको रुपमा समेत रहेको छ । चालू पदमार्ग सडकमार्गको चपेटामा पर्दै जान थालेपछि वैकल्पिक मार्गका रुपमा कफुचे मार्ग विकास गरिएको तत्कालिन पदमार्ग खोजी दलका सदस्य रामचन्द्र अधिकारीको भनाइ छ । पत्रकार रुपनारायण ढकालले आदर्श समाज दैनिकका लागि यो खवर लेखेका हुन् ।