कास्कीमा यस्तो छ चाडपर्व सुरक्षा योजना

पोखरा, असोज ७ ।
नेपाली समुदायमा एकपछि अर्को गरि चाडपर्व भित्रिरहेको छ । महान् चाडको रुपमा मनाईने दशैं र तिहार अन्य पर्वभन्दा बढी संबेदनशिल र असुरक्षित हुन्छ । यो बेला अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने गर्छ । यसैलाई मध्यनजर गर्दै कास्की प्रहरीले चाडपर्व विशेष योजना ल्याएका छ ।
दसैं लगायत चाडपर्वहरुमा अप्रिय घटना घट्न नदिनका लागि पोखराका मुख्य नाका र बजार क्षेत्रलाई कडा निगरानीमा राखिने कास्की प्रहरी प्रमुख असोक सिंहले बताए । उनका अनुसार चाडपर्व सुरक्षाका लागि ३ तहको योजना बनाईएको छ ।
आउटर रिङ, इन्टरमिडियट रिङ र कोर एरिया गरी ३ क्षेत्रमा सुरक्षाकर्मी परिचालन हुने सिंह बताउँछन् । ‘हामीले पोखरा भित्रिने नाकाहरुमा कडाइका साथ जाँच गर्ने छौं । विगतमा अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई पनि विशेष निगरानीमा राख्छौं, उनले भने–ठाउँठाँउमा चेक गर्ने र शंका लागेका व्यक्तिहरुलाई सोधपुछ गर्ने काम हाम्रो पहिलो प्राथमिकता हो । बजार क्षेत्र पनि पूर्ण निगरानीमा हुन्छ ।’ कुनै पनि बेला भइपरि आउने घटनाका लागि सजग भएर प्रहरी खटाउने उनको भनाई छ ।