कास्कीमा महिला उम्मेदवारको खडेरी

प्रकाश ढकाल
पोखरा, कार्तिक १८ ।
महिला उपस्थितीको सुनिश्चितताको चासो र चर्चा बढीरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिती झनै कमजोर बन्दै गएको छ । ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन । साना दलहरुले पनि उनीहरुलाई हेर्ने दृष्टीकोण परिवर्तित भएको छैन । कास्कीमा आगामी मंसिर २१ गते हुने चुनावका लागि महिला उम्मेदवार खासै देखिएनन् । ठूला मानिएका काँग्रेस एमाले र माओबादीमा महिला उम्मेदवारको खडेरी नै लाग्यो । साना दलहरुले केही थान उम्मेदवारी महिलाको जिम्मा लगाएका छन् । नेपाली काँग्रेसले केही समानुपातिक पद्धती देखाएपनि अरु दलहरु महिलाका हकमा कमजोर देखिए ।
काँग्रेसले कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा अन्तर्गत (क) मा नेतृ शारदा पौडेललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छन् । वाम गठबन्धनले भने जिल्लाका कुनैपनि क्षेत्रमा महिला उम्मेदवारलाई विश्वास गरेको छैन । एमालेले प्रदेश र प्रतिनिधीसभाका लागि प्रत्येक क्षेत्रबाट महिलालाई सिफारिस गरेपनि निर्णय हुँदा महिला उम्मेदवार परेनन् । जिल्लाभर १ सय १ जनाले दावेदारी दिँदा महिलाको संख्या ११ जना मात्रै छ ।
प्रतिनिधीसभा अन्तर्गत क्षेत्र नम्बर १ र ३ मा एकजना पनि महिला उम्मेदवार छैनन् । क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाबाट दाल कुमारी खत्री, संघीय समाजवादी फोरमबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्मा उम्मेदवार बनेकी छिन् । प्रदेशसभा अन्तर्गत पनि क्षेत्र नम्बर १ (क) मा राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीसमगर र मंगोल नेशनल अर्गनाइजेसनकी जानु गुरुङलाई टिकट दिईएको छ । १ नम्बर क्षेत्रकै (ख) मा संघीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङ मात्रै उम्मेदवार छिन् ।
२ (क) मा राप्रपाले महिला उम्मेदवार अघि सारेको छ । राप्रपाबाट विष्णु खड्का प्रदेशसभा सदस्यकी उम्मेदवार बनेकी छिन् । २ (ख) मा नेपाल दलित पार्टीबाट मिठु परियार र (ख) मा राप्रपाले धनुमाया कोइराला आचार्य तथा नेपाल दलित पार्टीले कमला विकलाई उम्मेदवार बनाएर मनोनयन समेत दर्ता गरिसकेका छन् ।