कास्कीमा बस दुर्घटना, निर्वाचित वडा सदस्यको मृत्यु

पोखरा, पुस ७ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा गाडी दुर्घटना हुँदा भर्खरै निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकका लागि छुटेको बस गन्तब्य नजिकै भाचोकको गहतबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मादी गाउँपालिका वडा नम्बर ९ की दलित महिला सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको स्थानीय अगुवा ओमप्रकाश गुरुङले जानकारी दिए ।
उनका अनुसार गाडीका ९ जना यात्रु गम्भीर घाईते भएका छन् । घाईते हुनेमा बसका चालक अमृत भुजेल सहित भाचोकका २२ बर्षिय बिष्णु गुरुङ, ४३ बर्षिय गंग गुरुङ, १९ बर्षिय तारा नेपाली र उनका ६ महिने छोरा समिप नेपाली, ३० बर्षकी ज्योति गुरुङ छन् । यस्तै २२ बर्षिय पुनम नेपाली, १३ बर्षिय सरोज नेपाली र तारा गुरुङको अवस्था पनि गम्भीर रहेको छ । गाडीमा सहचालकको काम गर्दै आएका गाडीधनी अर्जुन बराल चाहीँ हामफालेर सामान्य घाईते भएका छन् । सँधै चल्ने ना ३ छ ७४३६ नम्बरको गाडी गहतबारीमा सडकको डिल भासिएर पल्टिएको हो । ‘करिब १ सय मिटर बल्ड्याङ खाएर पछारिएको छ । घाईते भएका सबैको अवस्था निकै जटिल छ, घटनास्थलबाट ओमप्रकाशले भने–प्रहरी भर्खरै आईपुगेको छ । उद्धारका लागि स्थानीय पनि घटनास्थलमा जम्मा भएका छन् ।’

थप विवरण आउन बाँकी ।