कास्कीमा नमुना मतदान

पोखरा, मंसिर ३ ।
आँउदो चुनावलाई सघाउन पोखरामा शनिवार नमुना मतदान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी पोखरा ६ बैदाम स्थित सामुदायिक सेवा केन्द्रको भवनमा भएको मतदाता शिक्षा अन्तर्गत नमुना मतदान गरिएको हो । मतदातालाई मतपत्रमा स्वास्तिक छाप लगाउन सिकाउने उदेश्यसहित नागरिक समाज पोखराको आयोजना तथा क्षेत्रीय निर्वाचन कार्यालय पोखराको प्राविधिक सहयोगमा मतदाता शिक्षासँगै नमुना मतदान कार्यक्रम गरिएको हो ।
४० मतदाता सम्मिलित कार्यक्रममा ९२ प्रतिशतले सदर मतदान गरे । ८ प्रतिशतले गरेको मतदान चाही बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखरा प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । सुवेदीले नागरिकमा मतदानबारे प्रशिक्षण दिने क्रम जारी रहेको भन्दै चुनावमा अधिकतम मत सदर हुने दावी गरे । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पूराना मतदातामा मतदानबारे खासै अन्यौल नभएको बताए । नयाँ मतदाता भने भोट हाल्ने बेला झुक्किएका छन् । पौडेलले राजनीतिक दलले पनि मतदाता शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।