कास्कीमा टिकटका भाग्यमानी

प्रकाश ढकाल
पोखरा, कार्तिक १६ ।
जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै उम्मेदवारको छनौट बुधबार सक्यो ।
माओबादी र एमालेबीच चुनावी तालमेल भएपछि सोही अनुसार कास्कीमा क्षेत्र वाँडफाँड गरेर दलगत रुपमा उम्मेदवार छनौट गरिएको हो । कास्कीमा माओबादीले प्रदेशसभा अन्तर्गतका ३ वटा निर्वाचन क्षेत्र मात्रै पाएको छ भने ३ प्रदेशसभा सहित ३ वटै प्रतिनिधी सभा एमालेको भागमा छ । एमालेले प्रतिनिधी सभा सदस्यका लागि कास्कीमा क्षेत्र नम्बर १ बाट खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्मालाई अघि सारेको छ । खगराज २०६४ सालमा माओबादी उम्मेदवार देव गुरुङसँग सोही क्षेत्रमा पराजीत भएका थिए भने रवीन्द्र दुवै पटकका बिजेता हुन् । रवीन्द्रले २०६४ मा माओबादी उम्मेदवार झलकपाणी तिवारी र २०७० मा काँग्रेस उम्मेदवार शोभियत बहादुर अधिकारीलाई पराजीत गरेका थिए । जगत चाहीँ समानुपातिक सांसद छन् ।
प्रदेशसभाका लागि एमालेले १(ख), २(क) र ३(ख) पाएको छ । क्षेत्र नम्बर १(ख) बाट पार्टीका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ, २(क) बाट जिल्ला अध्यक्ष कृष्ण थापा र ३(ख) बाट युवासंघका केन्द्रिय अध्यक्ष राजीव पहारी उम्मेदवार बनेका छन् । थापा दोश्रो संविधानसभा चुनाव २०७० मा काँग्रेसकी उम्मेदवार शारदा पौडेलसँग पराजीत भएका थिए । गुरुङ र पहारी चाहीँ पहिलो पटक सांसद चुनाव लड्न लागेका हुन् ।
उता ३ सीट मात्रै पाएको माओबादी केन्द्रले पनि जिल्लाका ३ वटै क्षेत्रका एक÷एक प्रदेशसभा सदस्यका उम्मेदवार छानिसकेको छ । जसअन्तर्गत क्षेत्र नम्बर १(क) मा जिल्ला अध्यक्ष दिपक कोइराला, २(ख) मा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ र ३ नम्बर क्षेत्रको प्रदेश क्षेत्र (क)मा सह इञ्चार्ज रामजी बराल छन् । गुरुङ २०६४ को संविधानसभा चुनावमा कास्की २ बाट विजयी भएका थिए भने बराल २०७० को चुनावमा कास्की ३ बाट एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजीत भएका ब्यक्ति हुन् । कोइराला चाहीँ संसदीय चुनावमा नयाँ अनुहार हुन् ।
कास्की जित्न रणनैतिक तयारी गरिरहेको काँग्रेसले पनि जिल्लाका सबै उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्य बन्न वहालवाला कानुनमन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापालाई टिकट दिएको छ । २ नम्बरमा देवराज चालिसे र ३ नम्बरमा शुक्रराज शर्मा उम्मेदवार बन्नेछन् । थापा २०६४ को चुनावमा माओबादी उम्मेदवार देव गुरुङसँग पराजीत भए भने २०७० को दोश्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार मान बहादुर जिसीलाई पराजीत गरी संसद सदस्य निर्वाचित भएका थिए । चालिसे र शर्मा दुवैजना पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन् । २०५६ सालमा अपर हाउसको सांसद मनोनित भएका शर्मा कास्की काँग्रेसको इतिहासमा सबैभन्दा लामो समय पार्टी सभापति भएका थिए ।
प्रदेशसभा अन्तर्गत १ (क) मा जीवन परियार, (ख) मा जिल्ला सभापति कृष्ण केसी, २ (क) मा गुरु बराल, (ख) मा विन्दुकुमार थापा र ३ (क) मा शारदा पौडेल तथा (ख) मा भोज बहादुर गुरुङ सिकन्दरलाई टिकट दिएको छ । राती अवेरसम्म भएको बैठकले झण्डै सयको हाराहारीबाट ९ जना उम्मेदवार टुंगो लगाएको हो । क्षेत्र नम्बर १ का उम्मेदवार मंगलबार नै निर्णय गरिएपनि बुधवार पुनः हेरफेर गरिएको छ । यसअघि तिलक रानाभाटलाई १ (क) बाट टिकट दिएको भनिएपनि बुधबार त्यसलाई परिवर्तन गरेर काँग्रेस केन्द्रिय सदस्य तथा सांसद जीवन परियारलाई टिकट दिईएको हो । प्रदेशसभा अन्तर्गत ३ (क) कि उम्मेदवार शारदा पौडेल पहिलो संविधानसभा चुनावमा माओबादी उम्मेदवार राजकाजी गुरुङसँग पराजीत भएकी थिईन् भने दोश्रो चुनावमा एमाले उम्मेदवार कृष्ण थापालाई पराजीत गरी सांसद बनेकी थिईन् । प्रदेशसभाका बाँकी सबै उम्मेदवार संसदीय चुनावका लागि नयाँ हुन् ।
यसैबीच, टुंगिएका उम्मेदवारहरुले विहिबार उम्मेदवारी दर्ता गर्नेछन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र अनुसार छुट्टाछुट्टै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । मनोनयन दर्ता गरेका उम्मेदवारको सूची निर्वाचन समितिले विहिबार नै प्रकाशन गर्नेछ । त्यसपछि १७ गतेसम्म परेको उजुरी हेरेर १८ गते उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । कार्तिक १९ गतेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् भने सोही दिन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न समेत दिनेछ । कास्की लगाएतका जिल्लामा आउँदो मंसिर २१ गते चुनाव गर्ने तयारी गरेर निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यक्रम थालेको हो ।
यसअघि ४ निर्वाचन क्षेत्र रहेको कास्की हाल ३ वटा निर्वाचन क्षेत्रमा सीमित भएको छ । यसैका कारण यसअघिका निर्वाचन क्षेत्रमा पर्ने सीमाहरु यताउती गाभिएका छन् । जिल्लाभर हाल २ लाख ५५ हजार मतदाता छन् भने उनीहरुलाई मतदानका लागि ३ सय १७ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १(क) मा ५० हजार २ सय ८९, (ख) मा ४५ हजार ७ सय ९५, २ (क) मा ३७ हजार ६ सय ४३, (ख) मा ३३ हजार ८, ३(क) मा ४६ हजार २ सय ५२ र ३ (ख) मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।