कोत्रेमा दुर्घटना हुँदा मादी गाउँपालिकाका प्रशासकीय अधिकृतको अधिकृत घाईते

पोखरा, मंसिर १ ।
पोखरा–३२ कोत्रे पुल नजिकै शनिवार सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग.१ख ७८४७ नं को टिप्परले ग २ च ५४६९ नं को कारलाई ठक्कर दिँदा कार अनियन्त्रित भई रोकी राखेको बा ५च ८४०१ नं को जिपमा ठक्करखाँदा कार र जिपमा सवार सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
घाइते हुनेमा ग २ च ५४६९ नं का कार चालक पोखरा–१५ निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सोही कारमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका–७ का २७ वर्षीया प्रतिमा पोख्रेल घाइते भएकी छन् ।
त्यस्तै बा.५च. ८४०१ नं को जिपमा सवार पोखरा–१ बगर निवासी ४१ वर्षीया लक्ष्मी अधिकारी, सोही स्थान निवासी ४० वर्षीय युवराज अधिकारी, पोखरा–७ निवासी ४४ वर्षीया राधा सुवेदी, पोखरा–१ निवासी ४७ वर्षीया देवि कोइराला र पोखरा–१० अमरसिंहचोक निवासी ४० वर्षीया सीतादेवी तिमिल्सेना घाइते भएको प्रहरीले जनाकारी दिएको छ । उनीहरुको गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार भइरहेको छ । यूवराज अधिकारी मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनको आँखामा सामान्य चोट लागेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।