कास्कीमा एमालेका उम्मेदवार टुंगिए, खगराज र रवीन्द्र सर्वसम्मत

प्रकाश ढकाल
पोखरा, असोज १९ ।
नेकपा एमालेले पनि विहिबार जिल्लाका ९ वटै पदका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कमिटिको बैठकले संघका लागि तीन र प्रदेशका लागि ६ वटा क्षेत्रमा उम्मेदवार टुंग्याएको हो । संघीय चुनावका लागि क्षेत्र नम्बर १ बाट खगराज अधिकारी र क्षेत्र नम्बर २ बाट रवीन्द्र अधिकारी सर्वसम्मत भएका छन् । ३ नम्बर क्षेत्रमा भने सर्वसम्मत हुन नसकेपछि भोटिङबाट ३ जनाको नाम छानिएको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधी सभाका लागि जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम क्षेत्रीय कमिटीबाट जिल्लामा सिफारिस भएको छ ।
प्रदेश सभाका लागि १ नम्बर क्षेत्रको (क) बाट दिलिप न्यौपाने, टिकाराम पंगेनी र सरिता कुमालको नाम छनौट भएको छ भने (ख) मा मनबहादुर गुरुङ र बसन्त बराल सिफारिस भएका छन् । २ नम्बर क्षेत्रको (क) मा एमाले जिल्ला अध्यक्ष कृष्ण थापा, धनराज आचार्य र हिरा कुमारी गिरी सिफारिस भएका छन् भने (ख) मा संजीव बहादुर कोइराला, दान बहादुर बानियाँ र प्रभा कोइराला छानिएका छन् । निर्वाचन प्रक्रिया मार्फत उनीहरुको नाम चयन गरिएको हो । ३ नम्बर क्षेत्रबाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फ (क) मा दलबहादुर गुरुङ, नारायण बास्तोला र सरस्वती अधिकारीको नाम सिफारिस भएको छ भने (ख) मा दामोदर बैरागी, राजीव पहारी र देवका पहारीको नाम सिफारिस भएको क्षेत्रीय कमिटीले जानकारी दिएको छ ।
एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार उम्मेदवार छनौट गरिएको एमाले अध्यक्ष कृष्ण थापाले जानकारी दिए । समानुपातिक तर्फका उम्मेदवार भने केहीदिन भित्रै टुंगो लाग्ने एमाले कास्कीले जनाएको छ ।