कास्कीमा उम्मेदवार टुंग्याउँदै माओबादी

पोखरा, असोज १० ।
नेकपा माओवादी केन्द्रले कास्कीमा उम्मेदवार टुंग्याउन थालेको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रतिनिधी सभा चुनावका लागि २ वटामा माओबादीका उम्मेदवार टुंगिएका छन् भने प्रदेश सभाका लागि पनि एउटा क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ ।
माओबादीको मंगलबारको बैठकले क्षेत्र नम्बर १ मा पूर्वमन्त्री देव गुरुङ र क्षेत्र नम्बर २ मा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’ लाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यस्तै कास्की क्षेत्र नम्बर २ को (क) मा गंगा पोखरेललाई सर्वसम्मत उम्मेद्वार प्रदेश सांसदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
क्षेत्र नम्बर १ को उम्मेदवार बनेका गुरुङ पूर्व कानून मन्त्री तथा माओवादीको सचिवालय सदस्य हुन् । यसअघि ०६४ सालको चुनावमा उनी कास्की क्षेत्र नम्बर १ बाटै निर्वाचित भई सभासद बनेका थिए । कास्की क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेद्वार बनेका करण माओवादीको पोलिट्ब्यूरो सदस्य हुन् । यसअघि ०६४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित उनी ०७० सालको चुनावमा भने पराजित भएका थिए ।
बाँकी क्षेत्रमा भने उम्मेदवार बारे छलफल भैरहेको माओबादी श्रोतले जनाएको छ । संघका लागि ३ नम्बर क्षेत्रमा पार्टीका कास्की सहईञ्चार्ज रामजी बरालसहित पूर्वसभासद दुर्गा विक, भूमी पराजुली र नवराज भण्डारीको नाम चर्चामा छ । जसमा बराल र विक बढी चर्चित छन् ।