कास्कीबाट थपिएका शहीदको इतिहास यस्तो छ (पढ्नुस् विस्तृतमा)

प्रकाश ढकाल
पोखरा, माघ १२ ।
कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो । तत्कालीन सशस्त्र द्धन्द्धका बेला माओबादीबाट मारिएका ८ जना र पञ्चायतकालमा सरकार पक्षबाट मारिएका १ जना गरी ९ जना शहीदको सूचीमा सूचीकृत भएका छन् । साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका ईश्वर गुरुङ, साविक माछापुच्छ«े गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सु. रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्रबहादुर राजभाट, पोखरा ९ का गणेशमान पालिखे र साविक हंसपुर गाविसका पशुपति रानाभाटलाई शहीद घोषणा गरिएको हो । सशस्त्र द्धन्द्धका बेला उनीहरुलाई विभिन्न समयमा मारिएको थियो ।
२००७ सालमा जन्मिएका सल्यानका कृष्णबहादुर गुरुङलाई घरमा भात खाईरहेको अवस्थामा २०५९ बैशाख ६ गोली हानी हत्या गरिएको थियो । २०२८ सालमा घान्द्रुकमा जन्मिएका ईश्वरबहादुर गुरुङको २०६१ साल बैशाख २८ मा घर नजिकै सार्वजनिक चउरमा हत्या भएको थियो । माछापुच्छ«ेका टेकबहादुर गुरुङलाई २०५८ पुस १२ गते घरबाट बारीमा लगेर मारिएको हो । माछापुच्छ«ेकै पूर्णबहादुर भुजेललाई २०६० असोज ९ गते घरकै पिँडीमा गोली हानेर मारिएको थियो । विसं २००० भदौ १५ गते जन्मिएका मिजुरेका रतनसिंलाई २०६२ माघ १० गते घरबाट अपहरण गरेर बाटोमा लगी हत्या गरिएको थियो । १९९९ जेठमा जन्मिएका पोखरा नागढुंगाका गणेशमान पालिखेलाई २०६२ साल बैशाख २९ गते जनप्रिय क्याम्पसबाट घर फर्किने क्रममा घरकै गेटमा गोली हानिएको हो । उनी जनप्रिय क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख समेत थिए ।
१९९० मा जन्मिएका हंसपुरका पशुपति रानाभाटलाई सेनालाई सुराकी लगाएको आरोपमा लेखनाथको मोहोरियामा २०६१ जेठ ३ गते हत्या गरिएको थियो । लेखनाथका चन्द्रबहादुर राजभाटको दशैंका बेला डाँडाको नाक चौकीमा प्रहरी साथीलाई भेट्न जाँदा माओबादी आक्रमणमा परेर मृत्यु भएको हो । २०३४ सालमा जन्मिएका उनको २०६१ असोज ११ गते मृत्यु भएको थियो । यसैगरी, २०१८ सालमा मारिएका ल्वाङ घलेलका हरी प्रसाद गुरुङलाई पनि शहीद घोषणा गरिएको कानुनमन्त्री थापाले जानकारी दिए । उनलाई तत्कालीन पञ्चायत सरकारले चितवनमा समातेर जिउँदै गाडेको थियो ।
यसअघि कास्कीमा १ सय २ जना शहीद थिए । विहिबारको घोषणापछि जिल्लामा १ सय ११ जना शहीद पुगेका छन् । त्यसमा माओबादीका मात्रै ३८ जना छन् । जुन सशस्त्र द्धन्द्धका बेला राज्यपक्षले मारिएका ब्यक्ति हुन् । त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी र काँग्रेस एमाले लगायका पार्टीबाट पनि शहीद घोषणा गरिएका छन् । त्यसअघि यहाँ शहीद घोषणा गरिएको तथ्याकं भेटिँदैन ।