‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’

पोखरा, कार्तिक १९ ।
नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा अघि सारेका हुन् । प्राकृतिक श्रोतलाई अधिकतम उपयोग गरेर बढीभन्दा बढी पर्यटक पोखरा भित्र्याउन उम्मेदवारको चासो बढेको छ । उनीहरुको एजेण्डामा निःशुल्क स्वास्थ्य उपचारदेखि केबलकार, चक्रपथ, सुरुङमार्ग, उर्जाशक्ति, रेल–वे निर्माणसम्मका महत्वकांक्षी योजना छन् ।
कास्कीलाई अपराधमुक्त जिल्ला बनाउने, पोखरालाई उत्कृष्ट पर्यटकीय शहरको रुपमा स्थापित गर्ने, अन्तराष्ट्रिय मापदण्डको पोखरा विमानस्थल जतिसक्दो छिटो तयार गर्ने, घाँटिछिनादेखि पञ्चासे र घान्दु्रकबाट मुक्तिनाथसम्म केवलकार निर्माणका लागि पहल गर्ने, फेवाताल संरक्षणमा ५ बर्षभित्रै ठूला चेकड्याम निर्माण गर्ने लगाएतका योजना अघि सारेका छन् । उर्जाको विकासमा उनीहरुको बढी ध्यान केन्द्रित भएको छ । ‘कास्की उर्जाका हिसावले निकै सम्भावना भएको जिल्ला हो । यहाँको नदीनाला, खोला, ताल र तलाउबाट जलविद्युत उत्पादन गरी उर्जा आयोजनाको केन्द्र बनाउने योजना हामीसँग छ, उम्मेदवारको विकास एजेण्डामा उल्लेख छ–उर्जासँगै सडक सञ्जाल विस्तार गरेर कस्केली जनतालाई समृद्ध तर्फ हामी पु¥याउँछौं । यो दायित्व काँग्रेसको काँधमा छ ।’
पृथ्वीनारायण क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयबाट अलग गराएर स्वतन्त्र उच्च शैक्षिक संस्था बनाउने, वन विज्ञान अध्ययन संस्थान र लुक्ले कृषि अनुसन्धान केन्द्रलाई जडिबुटी, कृषि, वन, वातावरणसम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने, जिल्लाका चार ठाउँमा सम्पूर्ण पूर्वाधारयुक्त लघुशहरको निर्माण गर्ने, लामो समयदेखि बन्न नसकेको पोखरा चक्रपथ निर्माण सम्पन्न गर्ने लगाएत एजेण्डा उम्मेदवारहरुले प्रश्तुत गरे ।
यस्तै महानगरको साँघुरा सडकलाई मध्येनजर गरी ठाउँठाउँमा फ्लाई ओभर बनाउने, तनहुँ, लमजुङ र मनाङलाई जोडेर मादी करिडोर निर्माण गर्ने, २ वर्षभित्र पोखराबाट सिधै त्रिवेणी पुग्ने सडक निर्माण गर्ने, पोखरालाई अन्तराष्ट्रिय हवाइ मार्गसँग जोड्ने, सात ताल जोड्ने रिकंरोड, होमस्टे प्रवद्र्धन, खेलकुदको हव बनाउने लगाएत योजना पनि सार्वजनिक गरेका छन् ।
‘कास्कीबाट जितेर गएका उम्मेदवारहरु विकासका लागि कहिलै जिल्ला फर्किएनन् । उनीहरुले जनताको भावना अनुसार काम गर्न सकेनन्, क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसेले भने–२÷२ पटक जितेका प्रतिनिधीले सिन्को नभाँचेपछि जनता विकल्पको खोजीमा छन् । यसपालि मैले चुनाव जित्छु ।’ दुईपटक कास्कीबाट चुनाव जितेका रवीन्द्र अधिकारीप्रति लक्षित गर्दै उनले भने–‘एकपटक जितेर विकास गर्ने हो । दोश्रो पटक अधुरा कामलाई पूर्णता दिनपनि जनताले पत्याउनुपर्छ । तर दुवैपटक जितेर सिन्को नभाँचेकालाई फेरी जनताले विश्वास गर्नुहुँदैन ।’ बहुमतको नाममा देशलाई प्रयोगशाला बनाउन खोजिएको भन्दै उनले त्यसको विरुद्ध पनि जनताले काँग्रेसलाई समर्थन गर्ने दावी गरे । काँग्रेसभित्र बौद्धिकताको छाप छोडेका चालिसे आगामी चुनाव जनताको व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको लागि जनमत संग्रह भएको भन्दै संविधान नै समाप्त पार्ने कम्युनिष्ट योजना विरुद्ध नेपाली काँग्रेसको जित सुनिश्चित गर्नुपर्ने बताउँछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा कास्की १ का उम्मेदवार यज्ञ बहादुर थापाले देश संकटमा पर्ने संकेत देखा परेको भन्दै बेलैमा सचेत हुन आग्रह गरे । ‘समाजवादको आवरणमा कम्युनिष्टहरु साम्यवाद ल्याउने कुचेष्टा गरिरहेका छन् । यसले देश संकटमा धकेल्छ, उनले भने–उनीहरुको योजना सफल बन्न दिनुहुँदैन । जनता सचेत हुने बेला आयो ।’ ३ नम्बर क्षेत्रका उम्मेदवार शुक्रराज शर्माले देशलाई कठिन परिस्थीतीमा काँग्रेसले जोगाउने गरेको भन्दै फेरी काँग्रेसको काँधमा जिम्मेवारी आएको बताए । ‘हरेक अप्ठेरो मोडमा काँग्रेसले देशलाई जोगाएको छ । सँधै सही दिशानिर्देश गरेको छ, उनले भने–अहिले फेरी संकटको मोड आयो । जुनसुकै हालतमा काँग्रेसले जित्नुपर्छ ।’ कांग्रेस मात्रै लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने पार्टी भएको भन्दै उनले कम्युनिस्टहरुले शासन गरे देशमा अधिनायकवाद आउने बताए ।
प्रदेशसभा अन्तर्गतका उम्मेदवारहरुले कास्की र समग्र ४ नम्बर प्रदेशको विकास र समृद्धी काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै काँग्रेसको जित आवश्यक भएको बताए । काँगे्रसका केन्द्रीय सदस्य तथा इोत्र नम्बर १ (क) का उम्मेदवार जीवन परियारले सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै व्यक्ति समृद्ध नभई राष्ट्र समृद्ध हुन नसक्ने बताए । उनले कास्कीमा धेरै विकासे समस्या भएको भन्दै समस्याको चित्र अघि राखेर योजना तयार गर्नुपर्ने उल्लेख गरे । काँग्रेसले थालनी गरेको स्वास्थ्य भत्ताबारे जनतासामू प्रचार हुन नसकेको भन्दै त्यसलाई अघि सार्नुपर्नेमा उनको जोड छ । क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्ण केसीले काँग्रेसको विकल्प नभएको भन्दै एकीकृत भएर उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।
२ नम्बर क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र (क) का गुरु बरालले काँग्रेसको एजेण्डा सही भएकाले जुनसुकै शक्ति एकीकृत भएपनि पराजीत गर्न नसक्ने बताए । वाम गठबन्धनमार्फत कम्युनिस्टहरुले देशमा अर्को द्वन्द्व सिर्जना गर्न लागेका भन्दै उनले आफ्नो भविष्य खेर नफाल्न सुझाए । २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले अव विकासमा राजनीति गर्नुपर्ने भन्दै अवरोध हटाएर देशको स्थायीत्वका लागि काँग्रेसको विकल्प नभएको उल्लेख गरे । आउँदो चुनावले जनताको भविष्य कोर्ने भन्दै उनले सचेतताका साथ मतदान गर्न आग्रह गरे । महिला उम्मेदवार कास्की ३ (क) की शारदा पौडेल विगतमा अरु पार्टीलाई भोट हालेर मतदाता पछुताएको भन्दै यसपाली बहुमत काँग्रेसको पक्षमा पर्ने बताउँछिन् । ३ (ख) का उम्मेदवार सिकन्दर गुरुङ (भोज) ले आफू सुनको सोकेसमा सजाइएको थाली नभइ फलामको फाली भएकोले आँफूले कुराभन्दा काम गर्ने बताए ।
प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गरेका थिए । कार्यक्रममा कास्की काँग्रेसका कार्यबाहक सभापति सुदिपमोहन भट्टराईले काँग्रेस कास्कीको चुनावी एजेण्डा सार्वजनिक गरेका थिए ।