कास्कीको विरेठाँटीमा क्यानोनिङ सुरु

पोखरा, असोज ७ ।
पोखरा आसपासमा साहसिक खेल क्यानोनिङ बहुत चल्तीमा छ । घलेलबाट सुरु भएको क्यानोनिङ अहिले कास्की जिल्लाका विभिन्न ठाउँहरुमा सुरु भैसकेका छन् । पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार अन्नपुर्ण गाउँपालिका ८ विरेठाँटीमा पनि भर्खरै यो खेल सुरु भएको छ ।
स्वदेशी तथा विदेशीहरूलाई मध्यनजर गर्दै विरेठाँटी क्यानोनिङ प्रालिले संचालनमा ल्याएको खेल अन्नपुर्ण गाउँपालिका प्रमुख युवराज कुवँरले शुक्रबार उद्घाटन गरे । करिव १ करोडको लगानीमा निर्माण भएको क्यानोनिङ स्थलमा स्थानीय परिकार प्रयोग गर्न मिल्ने रेष्टुरेन्ट समेत सञ्चालन भएको छ । स्थानिय युवाहरु पुर्ण गुरुङ, सुरेश गुरुङ, विष्णु गुरुङ र विजय गुरुङको संयुक्त लगानी रहेको यस क्यानोनिङमा पोखरा देखि जानेहरुका लागि दैनिक रुपमा यातायातको व्यवस्था गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका प्रमुख कुवँरले क्यानोनिङ स्थल पर्यटकको आकर्षण बन्न सक्ने भन्दै गाउँपालिकाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने बताए । क्यानोनिङ स्पटमा लैजाने–ल्याउने तथा खाने–बस्ने प्याकेजसहितको व्यवस्था कम्पनीले सुविधाका रुपमा उपलब्ध गरेको छ । कम्पनीले हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी एवम शुभ दिपवालीको अवसरमा ओपनिङ्ग आवर भनेर प्याकेज समेत ल्याएको छ ।
प्याकेज अनुसार यहि असोज ६ गते देखि १२ गते सम्म नेपाली नागरिकले प्रतिव्यक्ती १५ सय र विदेशी नागरिकले २ हजारमा क्यानोनिङको मज्जा लिन सक्ने कम्पनीले बताएको छ । त्यसैगरी अन्य समयमा ५ जना भन्दा बढि समुहमा आउनेहरुलाई विशेष सहुलियतको व्यवस्था पनि कम्पनीले गरेको छ । गर्मी होस् वा जाडो जुनसुकै मौसममा पनि क्यानोनिङको मज्जा लिन सकिने भएकाले यसबाट पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा संचालकहरुले राखेका छन् ।
दक्ष गाइडहरुका साथ ५० मिटरको डोरीमा झुन्डिएर खेलिने खेलका लागि यस पदेली छहरा सम्पुर्ण कारणले उपयुक्त रहेको बताएको छ । क्यानोनिङ गर्नुअघि दुर्घाट्ना बिमा र सुरक्षाका लागि टाउकोमा हेलमेट, वेटसुट (विशेष किसिमको कपडा) तथा हारनेस सेट अनिवार्य कम्पनीले व्यवस्था गर्ने छ ।
पोखरा नजिकैको छोटो दूरीमा अवस्थित यो क्यानोनिङमा आन्तारिक तथा वाह्य पर्यटकहरु क्यानोनिङ गरि विभिन्न पर्यटकिय गाँउहरुको भ्रमण गर्न सक्नेछन । कास्कीका विभिन्न रमणिय गाँउहरु जानका लागि बाटैमा पर्नेभएकाले पनि पर्यटकहरुले यसको मज्जा लिने विश्वास संचालकको छ ।