कास्कीको जिल्ला शिक्षा समन्वय इकाईमा तनाव, दुईजना कार्यालय प्रमुखको कुर्ची तानातान

पोखरा, जेठ २७ ।
दुईवटा शिक्षा समन्वय अधिकारी भएपछि कास्कीको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा तनाव सुरु भएको छ । सरकारले अघिल्लो साता नारायण सुवेदीलाई समन्वय अधिकारीको रुपमा कास्कीमा काज खटायो । उनी सोमबारदेखि काममा हाजिर भएका छन् ।

तर यसअघि कास्कीमा कार्यरत नरेन्द्रराज पौडेल सरकारले खटाएको ठाउँमा जान नमानेपछि कास्की समन्वय इकाईमा तनाव सुरु भएको छ । दुई जना समन्वय अधिकारीले छुट्टाछुट्टै कार्यालय खडा गरेर काम थालेका छन् ।

‘सरकारले खटाएपछि आधिकारीक मान्छे म हुँ । मेरो ठाउँमा वहाँ बसेपछि मैले अर्को कार्यालय बनाएर काम थालेको छु, भर्खरै कास्की आएका समन्वय अधिकारी नारायण सुवेदी भन्छन्–१/२ दिनमा मिल्छ । अहिलेलाई एड्जस्ट गरिरहेको छु ।’ उनले सोही भवनमा रहेको लेखाको शाखाको आडमा कुर्चि राखेर काम गरेका छन् ।

अर्का समन्वय अधिकारी नरेन्द्रराज पौडेल चाहीँ निजामति सेवा ऐन विपरित सरकारले सरुवा गरेको भन्दै खटाएको ठाउँमा नजाने जिकिर गर्छन् । ‘मेरो १ बर्षभन्दा कम समय छ । त्यसमाथी कार्यालय प्रमुखलाई काज सरुवा गर्न पाउने नियम कतैपनि छैन, उनले भने–मेरो अनुमति विना मलाई सरुवा गर्न मिल्दैन । कानुनी लडाईं लड्छु ।’ उनले गलत काम गरिएको भन्दै शिक्षा विभाग र सर्वोच्च अदालतमा पनि उजुरी दिएका छन् । अदालतले यथास्थितिमा राख्न अन्तरिम आदेश पनि दिईसकेको पौडेलले बताए ।

पूराना समन्वय अधिकारी यसअघिकै ठाउँबाट काम गरिरहेका छन् भने नयाँले नजिकै अर्को कोठामा कुर्ची राखेर काम गर्न थालेका छन् । जेठ ९ गतेको पत्राअनुसार सरकारले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय अधिकारीलाई काज सरुवा गरेको थियो ।