कास्कीको कुन क्षेत्रमा कसको दावी (सबै पार्टीको हेर्नुस्)

प्रकाश ढकाल

पोखरा, असोज ५ ।

सरकारले प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी मिति सार्वजनिक गरेपछि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु भएको छ । केही ब्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्ना उम्मेदवारी समेत प्रश्तुत गरेका छन् । यद्यपी यसको टुंगो कात्तिक ५ गतेको मनोनयन पछि मात्रै लाग्नेछ । भर्खरै सम्पन्न स्थानीय तहको चुनावलाई हेर्ने हो भने कास्की एमालेका लागि बलियो जिल्ला सावित भएको छ । त्यसको बलियो प्रतिश्पर्धी काँग्रेस हो भने माओबादी बाहेकका दलहरुको उपस्थिती कास्कीमा खासै छैन । यद्यपी अघिल्ला संविधानसभाको चुनावमा एमाले, काँग्रेस र माओबादी तीनैदल कास्कीका लागि समान हैसियतका थिए । २०६४ सालमा पहिलो पार्टी बनेको माओबादीका लागि २०७० को चुनाव सम्झन लायक भएन । २०७० मा तत्कालीन ४ निर्वाचन क्षेत्रमध्ये काँग्रेस र एमालेले समान दुई÷दुई क्षेत्र जितेका थिए ।
तर अहिले राज्य पुनर्संरचनापछि कास्कीमा तीनवटा मात्रै निर्वाचन क्षेत्र कायम भएको छ । नयाँ संरचनामा तीनमध्ये दुईवटा क्षेत्र एमाले र एउटामा काँग्रेसको पकड देखिन्छ । क्षेत्र नम्बर १ काँग्रेस र बाँकी दुई क्षेत्र एमालेले आफ्नो पक्षमा पार्ने अड्कलबाजी हुन थालेका छन् । यद्यपी चुनावी नतिजा अड्कल गरेजस्तै सहज पनि छैन । एकअर्काले पकड ठानेका ठाउँहरु फरक क्षेत्रमा परेका छन् । यसले पनि नतिजामा केही प्रभाव पार्ने देखिन्छ । स्थानीय चुनावमा २ लाख २५ हजार मतदाता रहेको कास्कीमा हाल २ लाख ५६ हजार पुगेको छ । थपिएका मतदाता कुन पार्टीका शुभचिन्तक छन् त्यसमा पनि भर पर्छ ।
स्थानीय चुनावमा बलियोसँग स्थापित हुन नसकेको कास्की काँग्रेस विगतका गल्ती सच्याएर संघ र प्रदेशमा आफ्नो उपस्थितीलाई बलियो पार्ने दाउमा छ । एमालेलाई विगतको साख जोगाईराख्ने चुनौति छ भने माओबादी कुनै न कुनै हिसावले संघ र प्रदेशमा प्रबेश गर्न चाहान्छ । मुख्यमन्त्री हत्याउने दाउमा लागेका काँग्रेस एमाले कास्कीलाई बहुत सम्भावनायुक्त क्षेत्र ठान्छन् । त्यसो त ४ नम्बर प्रदेशको सबैभन्दा बढी तीनवटा निर्वाचन क्षेत्र कास्कीमा छ । ८४ स्थानीय तह रहेको ४ नम्बर प्रदेशमा ४४ वटा तह काँग्रेसले जितेको छ भने ३४ मा एमाले, ५ वटामा माओबादी तथा एउटा तह जनमोर्चाको पोल्टामा प¥यो । पोखरा लेखनाथ महानगरपालिका सहित ठूला स्थानीय तहहरुमा एमालेले जितेपछि प्रदेश र संघको निर्वाचन क्षेत्रमा एमाले स्थानीय चुनाव भन्दा अगाडी पुग्न सक्छ ।
जिल्लामा दर्ता भएका २३ वटै दलले चुनाव केन्द्रित कार्यक्रम गर्न थालिसकेका छन् । काँग्रेसले प्रदेश र संघका उम्मेदवारहरु १७ गतेभित्रै जिल्लाबाट टुंग्याएर केन्द्रमा सिफारिस गर्ने छ । त्यसका लागि जिल्ला र क्षेत्र तहमा निरन्तर बैठक चलिरहेको सभापति कृष्ण केसीले जानकारी दिए । एमालेले पनि चुनाव केन्द्रित आन्तरिक छलफल गरिरहेको छ । केन्द्रबाट नीतिगत निर्णय नपाएकाले केन्द्रको निर्णयपछि चुनावी कार्यक्रम तय गर्ने अध्यक्ष कृष्ण थापा बताउँछन् । माओबादी केन्द्रले आगामी चुनावका लागि तयारी थालिसकेको छ । चुनावको तयारीका लागि माओवादी केन्द्रका नेताहरु अहिले गाउँगाउँ पसेका छन् । माओवादी केन्द्रबाट आँफुले दावी गरेको क्षेत्रमा नै सम्भावित उम्मेदवारले भेटघाट तिव्र पारेका माओबादीका कास्की इञ्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।
कास्कीमा मुख्य दलबाट सांसदका लागि दावी गर्ने डेढसय भन्दा बढी छन् । नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा यज्ञ बहादुर थापा, महादेव गुरुङ र तारानाथ रानाभाटले दावी गरेका छन् । केही सहज क्षेत्र भएकाले तीन नम्बर क्षेत्रका महादेव गुरुङले १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । बहालवाला मन्त्री समेत रहेका यज्ञ बहादुर थापा र पुर्व सभामुख तथा कानुन मन्त्री तारानाथ रानाभाटले आफ्नो क्षेत्र भएकाले त्यसमा आँफ्नो उपस्थिती खोजेका छन् । समग्रमा १ नम्बर क्षेत्र काँग्रेसका लागि केही सहज छ, त्यसैले यो क्षेत्रमा उम्मेदवारीका लागि दावी गर्ने पनि बढी नै छन् । यो क्षेत्रमा एमालेबाट खगराज अधिकारी र श्रीनाथ बराल प्रमुख दावेदार हुन् । तर अधिकारी मुख्य मन्त्रीका समेत दावेदार भएकाले उनी प्रदेशबाट चुनाव लड्ने संकेत बुझिन्छ । बराल चाहीँ आफुँलाई केन्द्रमा प्रश्तुत गर्न चाहान्छन् । खगराज प्रदेशको उम्मेदवार बने श्रीनाथ केन्द्रका लागि मुख्य दावेदार हुन् । माओबादी केन्द्रबाट कास्की अध्यक्ष दीपक कोइराला, पुर्व मन्त्री देव गुरुङ, झलकपाणी तिवारी र शिव खनाललाई सम्भावित उम्मेद्वारको रुपमा हेरिएको छ ।
क्षेत्र नम्बर २ मा भने काँग्रेसबाट खासै उम्मेदवार देखिएका छैनन् । यद्यपी शोभियतबहादुर अधिकारी, देवराज चालिसे र नरेशशंकर पालिखेको नाम चर्चामा छ । २ नम्बर क्षेत्र एमालेका लागि बलियो क्षेत्र हो । सांसद रवीन्द्र अधिकारीको क्षेत्र भएकाले उनको दावेदारी यसै क्षेत्रबाट छ । यद्यपी उनलाई प्रदेशमा उठाएर मुख्य मन्त्री बनउने बिषयमा पनि एमालेभित्र छलफल भैरहेको छ । यो क्षेत्रबाट संघमा तुल बहादुर गुरुङ र कृष्ण थापाको पनि उत्तिकै दावी छ । एमाले जिल्ला अध्यक्ष समेत भएकाले थापाले केन्द्रमा दावी गरेका छन् । श्रोतका अनुसार रविन्द्रलाई ३ नम्बर क्षेत्रबाट उठाएर थापालाई २ मा टिकट दिनका लागि पनि छलफल चलेको छ । माओबादीबाट पुर्व सांसद राजकाजी गुरुङ सहित गंगा पोखरेल, गायत्री दुरा र बिनय थापा पनि यो क्षेत्रका लागि सम्भावित उम्मेदवार हुन् ।
३ नम्बर क्षेत्रमा सांसद शारदा पौडेल र शुक्रराज शर्माको नाम सुनिएको छ । एमालेबाट सांसद सीता गिरी वली, जगत विश्वकर्मा र जगन्नाथ बास्तोलाको नाम चर्चामा छ । माओबादीका रामजी वराल, रामराज रेग्मी, भीमबादुर विक, अर्जुन छन्त्याल र पूर्व सांसद दुर्गा विक यो क्षेत्रमा मुख्य दावेदार हुन् ।
प्रदेशतर्फ काँग्रेले १ नम्बर क्षेत्रको (क) मा सुदिपमोहन भट्टराई, कोपीला रानाभाट, गिरीराज गौतम, बुद्धिमान गुरुङ, राजेन्द्रमणी लामिछाने, चन्द्रावती पौडेल र तारा अधिकारी मध्ये एकलाई टिकट दिन सक्ने बुझिएको छ । एमालेले यो क्षेत्रमा टिकाराम पंगेनी, बिजयबाबु बनबासी, मोहन गुरुङमध्ये कसैलाई प्रतिश्पर्धीको रुपमा उतार्न सक्छ । माओबादीमा निर्मला सुबेदी, हरि लामिछाने, अर्जुन मल्ल र कृष्णकुमारी घिमिरे प्रमुख दावेदार देखिएका छन् ।
१ नम्बर क्षेत्रको (ख) मा काँग्रेसका सभापति कृष्ण केसी, सरस्वती गुरुङ, किशोरदत्त बराल, गुरु बराल, बृजमान गुरुङ र नवीन सिग्देलले दावी गरेका छन् । सभापति समेत रहेकाले केसी यो क्षेत्रको बलियो उम्मेदवार हुने श्रोत बताउँछ । एमालेबाट श्रीनाथ बराल, मनबहादुर गुरुङ र पदम प्रसाद पौडेल मुख्य दावेदार हुन् । माओबादीमा मित्र गुरुङ, मिन गुरुङ, विश्वप्रकाश लामिछाने, लालबहादुर गुरुङ, शरदचन्द्र वराल र कल्पना पाण्डे चर्चाका पात्र छन् ।
क्षेत्र नम्बर २ तर्फ (क) मा काँग्रेसका ऋषि काफ्ले, बिजय आचार्य, केशर निर्दोषीको नाम सुनिएको छ । उता एमालेले भने प्रदेशको मुख्य मन्त्रीको उम्मेदवार यो क्षेत्रमा प्रश्तुत गर्ने तयारी बुझिन्छ । मुख्यमन्त्रीका दावेदार भए किरण गुरुङ वा पृथ्वीसुब्बा गुरुङमध्ये एकजना यो क्षेत्रमा उम्मेदवार बन्ने सम्भावना छ । रश्मी आचार्य, मुक्ती पौडेल, झवी रेग्मी, चेत बहादुर गुरुङ, सिर्जना शर्मा, झपट रानाभाट र तेजनारायण अधिकारी यो क्षेत्रमा एमालेबाट प्रमुख दावेदार हुन् । माओबादीबाट रुद्र गौतम, गान्धी गुरुङ, कमला रानाभाट, बुद्धिमाया गुरुङ, र ओम पौडेललाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । २ नम्बर क्षेत्रको (ख) मा काँग्रेसले माधव बास्तोला, निर्मल कर्माचार्य र विरेन्द्रनारायण बिजुक्छे मध्ये कुनै एकलाई उम्मेदवार बनाउन सक्छ । एमालेबाट कृष्ण थापा, मदनकाजी श्रेष्ठ, प्रभा कोइराला, मीना गुरुङ, धनराज आचार्य र १६ नम्बर वडाकी अर्की मीना गुरुङको पनि मुख्य दावी रहन सक्छ । माओबादीबाट यो क्षेत्रका लागि रामप्रसाद पौडेल, नवीन अधिकारी, बिपिन आचार्य र ईमानबहादुर गुरुङको नाम बढी सुनिन्छ ।
क्षेत्र नम्बर ३ को प्रदेश क्षेत्र (क) मा लक्ष्मी पाण्डे, बाबुराम आचार्य, रामचन्द्र त्रिपाठी, सीता गुरुङ लगाएतका अनुहार काँग्रेसका उम्मेदवार हुन् । एमालेबाट यो क्षेत्रमा दल बहादुर गुरुङ, दिपक पौडेल, शोभाखर भण्डारी, कृष्ण बहादुर नेपाली, लाल बहादुर परियार, धर्मराज बास्तोला र गोपाल गिरी दावेदार बन्न सक्छन् । माओबादीले प्रविणा अधिकारी, मोहन दवाडी, भोजराज पौडेल, राजु तिमिल्सिना र नवराज भण्डारीलाई उम्मेदवारको रुपमा प्रश्तुत गर्ने सम्भावना छ । ३ नम्बर क्षेत्रको (ख) मा काँग्रेसका खेमराज पौडेल, मनोज गुरुङ, देवेन्द्र शेरचन, गंगा केसी, दिपक गुरुङ, आई बहादुर गुरुङ, पोषनाथ शर्माको नाम चर्चामा छ । एमालेका राजीव पहारी, पुण्य पौडेल, लिलाधर पौडेल, देवका पहारी, मित्र कुमारी गुरुङ, हरि पौडेल र पदम पौडेलले प्रदेश सांसदका लागि दावी गरेका छन् । माओबादीमा पनि अग्नी कँडेल, भेषराज पौडेल, गोमा ढकाल, धर्म गुरुङ, भूमी पराजुली र दुर्गा भण्डारी प्रमुख दावेदार हुन् । यसबाहेक अन्य राजनीतिक दलबाट पनि उम्मेदवारको चर्चा सुरु भएको छ । कास्कीमा राप्रपा, जनमोर्चा, माले, संघीय समाजबादी फोरम, नयाँ शक्ति, अखण्ड नेपाल लगाएतबा पार्टी सक्रिय छन् ।
प्रदेशभित्र फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भए जुनसुकै क्षेत्रबाट पनि चुनावमा उम्मेदवार बन्न पाउने भएपछि कास्की बाहिरका वा जिल्ला भित्रै पनि उम्मेदवार यताउती हुन सक्छन् । केन्द्रका लागि पनि मतदाता नामावलीमा नाम भएको जुनसुकै ठाउँको नेपाली नागरिक उम्मेदवार बन्न सक्ने भएकाले यसमा पनि उम्मेदवार हेरफेर हुन सक्ने सम्भावना छ ।
उम्मेदवारको मापदण्ड
निर्वाचन आयोगले संघ र प्रदेशका लागि उम्मेदवार बन्न दायरा समेत तोकेको छ । आयोगका अनुसार गैर नेपाली नागरिक, बाहलवाला सरकारी कर्मचारी, मानसिक सन्तुलन ठीक नभएको, नैतिक पतन देखिने वा फौजदारी कसूरमा सजाय पाएको ब्यक्ति, निर्वाचन सम्बन्धी कानुनमा सजाएँ भोगी दुई बर्ष भुक्तान नगरेको ब्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । यस्तै संगठित अपराध कसूरमा सजाय पाएर छ बर्ष पूरा नभएको, जातिय भेदभाव वा छुवाछुतको कसूरमा सजाय पाएर छ बर्ष भुक्तान नगरेको, प्रचलित कानुन अनुसार कालो सूचीमा रहेको अवधीभर र कैदमा बसेको अवधीभर कोही पनि ब्यक्ति संघ वा प्रदेशको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ । ३५ बर्ष पूरा भएको ब्यक्ति प्रदेशमा उम्मेदवार बन्न सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम भएको हुनपर्छ भने संघका लागि नेपालभरी जुनसुकै ठाउँको मतदाता नामावलीमा नाम दर्ता गराएको हुनुपर्छ ।