कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

 

अर्घाखाँची, कार्तिक २० ।

सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२, मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते हुनेमा चालक ४९ वर्षीय गंगाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

कार सडकबाट करिब १५० मिटर तल खसेको छ ।

ओरालो बाटोमा तीव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । (रासस)