कार्यालयको बिषयमा विवाद हुँदा वडा अध्यक्षमाथी कुटपिट

राजविराज, फागुन २ ।
योजना छनौट तथा वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का वडाध्यक्ष चुनचुन साह कुटपिटमा परेका छन् । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल, उनका छोरा तेजनारायण मण्डल लगायतले साहलाई कुटपिट गरेका हुन् । गाउँपालिका अध्यक्ष मण्डलले ११ करोड ७० लाखको योजना र वडा कार्यालय आफ्नै टोल रमपुरामा राख्नुपर्ने अडान लिएपछि आफुले विरोध गर्दा आफूमाथि हातपात भएको साहले बताए । वडा नम्बर २ का मोहनपुर, रमपुरा र मौवा टोललाई समेत समेटेर विकासका योजना छनौट गर्नुपर्ने र जनतालाई पायक पर्ने गरी वडा कार्यालय राख्नुपर्ने आफूले अडान राखेपछि गाउँपालिका अध्यक्षका छोरा तेजनारायणले आफूमाथि हातपात गरेको उनको आरोप छ ।
कुटपिटबारे इलाका प्रहरी कार्यालय छिन्नमस्तामा निवेदन समेत दिएको जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष मण्डलले भने योजना तर्जुमा गर्दा सामान्य विवाद मात्रै भएको र वडा अध्यक्षमाथि कसैले हातपात नगरेको बताए । इलाका प्रहरी कार्यालय सखडा (छिन्नमस्ता) ले भने कुटपिट नभई वडा कार्यालय सार्ने विषयमा विवाद भएको जनाएको छ । रमपुरा र मौवा गाउँका प्रतिनिधिबीच वडा कार्यालय आफ्नो गाउँमा हुनुपर्ने भन्दै विवाद सुरु भएको प्रहरी नायव निरीक्षक भुवन कार्कीले बताए ।