कारागारका कैदीबन्दीलाई सहयोग

पोखरा, जेठ १७ ।
गणतन्त्र दिवसमा कास्की कारागारका कैदीहरुलाई त्रिपाल, सावुन र पोषण सामग्री सहयोग गरिएको छ । काँग्रेस नेतृ सरस्वती गुरुङको संयोजनमा जेके क्रसर उद्योगका सञ्चालक रामपसाद शर्मा र समाजसेवी चन्द्र गुरुङको सहयोगमा सामग्री सहयोग गरिएको हो ।

कोरोनाका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै सरसफाईका लागि सावुन वितरण गरिएको गुरुङले बताईन् । ‘सानो बच्चा भएका र गर्भवतीहरु पनि जेलमा हुनुहुन्छ वहाँहरुलाई पौष्टीक आहार र सबैलाई पुग्ने गरी साबुन सहयोग गरिएको छ,’ उनले भनिन्, ‘कारागारमा धेरै कैदीबन्दी भएका कारण ठाउँ साँघुरो भएको छ । त्यो समस्या देखेर त्रिपाल पनि सहयोग ग¥यौं ।’ सहयोगीहरुले कारागारका प्रमुख गणेश गौतमलाई हस्तान्तरण गरेका हुन् ।

यसैबीच, कास्की कारागारमा रहेका ४ जनालाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिईएको छ । ज्यान मार्ने उद्योग, कर्तब्य ज्यान र सरकारी दस्तखत कीर्ते गरी सजाएँ भोगिरहेका ४ जनालाई आचरण सुधारिएको आधारमा बाँकी कैद मिनाहा गरिएको हो । आधा कैद भुक्तानी गरिसकेका र आचरण असल देखिएका कैदीलाई राष्ट्रपतिले घटनाको प्रकृति हेरेर आममाफी दिने प्रचलन छ ।
४ सय क्षमता रहेको कारागारमा ९ सय भन्दा बढी कैदीहरु छन् ।