काठमाण्डौं जाँदै गरेको बस त्रिशुलीमा खस्यो, मृतकको संख्या ८ पुग्यो

पोखरा, जेठ ५ ।
झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ । ना ७ ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो । रासस