काठमाडौंमा कांग्रेसका उम्मेदवार सिफारिस

काठमाडौं, असोज २३ ।
आगामी मंसिरमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरिएको काँग्रेस जिल्ला कार्य समितिका सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए ।
क्षेत्र नं २ मा क्षेत्रीय सभापति उपेन्द्र कार्की, सांसद दीपकप्रसाद कुइँकेल र महासमिति सदस्य लोकेश ढकालको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरिएको छ । क्षेत्र नं ३ मा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, महासमिति सदस्य हरिबोल भण्डारी, महामिति सदस्य एवं नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का र विपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलको नाम केन्द्रमा पठाएको छ ।
पुर्व स्वास्थ्यमन्त्री गगन थापा ४ नम्बरबाट सिफारिस भएका छन् । उनीसँगै महासमिति सदस्य नरोत्तम वैद्य र महासमिति सदस्य जानु घिमिरेको नाम पनि सिफारिस भएको काँग्रेस काठमाण्डौंले जनाएको छ । क्षेत्र नं ५ मा क्षेत्रीय सभापति रमेश खड्का, पूर्वमहासमिति सदस्य श्रीविनोद भट्टराई, नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष एवं महासमिति सदस्य प्रेमबहादुर खड्का र महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम केन्द्रमा बुझाएको छ ।
क्षेत्र नं ६ मा जिल्ला सभापति बानियाँ र रक्षामन्त्री भीमसेनदास प्रधानको नाम सिफारिस गरेको छ भने क्षेत्र नं ७ मा महासमिति सदस्य सुदर्शन आचार्य, जिल्ला समिति सदस्य विजय माली, क्षेत्रीय सभापति मुकुन्द रिजाल, रक्षामन्त्री प्रधान, यसअघि दोस्रो संविधान सभा निर्वाचनमा चुनाव लड्नुभएकी महासमिति सदस्य प्रमिला सिंह र समानुपातिक सांसद ओमदेवी सिफारिसमा परेका छन् ।
क्षेत्र नं ८ मा केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं सांसद नवीन्द्रराज जोशीको नाम सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्र नं ९ मा सांसद ध्यानगोविन्द रञ्जित र महासमिति सदस्य दामोदर गौतम र क्षेत्र नं १० मा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।