काउछालाई माओबादीको २४ घण्टे स्पष्टीकरण

पोखरा, भदौ ३० ।
नेकपा माओवादी केन्द्रले पार्टीका पोलिट्ब्यूरो सदस्य तथा कास्कीका प्रचार विभाग ईञ्चार्ज बालासिंह काउछालाई अनियमितताको आरोपमा स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी तमु ‘करण’ले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै काउछाबिरुद्ध आर्थिक अनियमितताको प्रमाणसहित लिखित उजुरी परेकाले स्पष्टीकरण माग गरेको जनाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ–तपाईं बालासिंह काउछाबिरुद्ध आर्थिक अनियमितता सम्बन्धी लिखित उजुरी परेको र यसबारे पटकपटक जानकारी गराउँदा पनि उल्टै पार्टी संगठनप्रति इमान्दार नरही पार्टीबिरुद्ध नै अनधिकृत सम्बन्ध बढाउँदै गएको तथा पार्टीको मर्यादालाईसमेत कायम राख्न नसकेकाले लिखित स्पष्टीकरणसहित २४ घण्टाभित्र पार्टी कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ ।’
काउछा माओवादी केन्द्र निकट मगर मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनी मशाल, एमाले र माले हुँदै २०६४ सालमा माओवादीमा प्रवेश गरेका थिए । उनी यसअघी बाबुराम भट्टराई निकटका रुपमा चिनिन्थे ।