कांग्रेस सांसद आलम गिरफ्तार, पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप

रौतहट, असोज २७ ।
पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ । आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो ।

आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य छन् । २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ । पाँचमध्ये दुई जनाको परिवारले त्यहीबेला आलमविरूद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ ।