कांग्रेस पोखरा २२ को विरोधसभा, प्रतिनिधिसभा पुनः स्थापनाको माग

पोखरा, माघ ८ ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पोखरा २२ मा कांग्रेसले विरोधसभा गरेको छ । प्रतिनिधिसभा विघटन लोकतन्त्र र संविधान विपरित भएको भन्दै प्रधानमन्त्रीको विरुद्ध कांग्रेसले प्रदर्शन गरेको हो ।

कार्यक्रममा कांग्रेस नेता खेमराज पौडेलले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको बताए । उनले जुनसुकै हालतमा संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिए । कांग्रेस प्रदेश ३ (ख) का सभापति प्रकाश बरालले प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

सोही कार्यक्रममा तरुण नेता खुसिराम बराल, विद्यार्थी नेताहरु ठाकुर बराल, शिव बराल, प्राध्यापक भीमनाथ बराल, क्षेत्रीय प्रतिनिधि कुलदेवी बराल लगायतले प्रतिनिधिसभा विघटनको विरोध गरे । त्यस क्रममा विभिन्न पार्टी छोडेर ४० भन्दा बढी कांग्रेस छिरेका छन् ।

वडा सभापति देउकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव होमप्रसाद बरालले गरेका थिए । विरोधपछि वडा कार्यालयमा भएका ढिलासुस्ती, कर्मचारीको लापरबाही र बेथितिको विरुद्ध १९ बुँदे ज्ञापनपत्र वडा अध्यक्ष मित्रलाल बराललाई बुझाईएको कांग्रेस पोखरा २२ ले जनाएको छ ।