कांग्रेस नेताका आग्रहः ‘स्वतन्त्र होइन, पार्टीबाटै संघर्ष’

पोखरा, साउन २४ ।
अहिले देशब्यापी रुपमा स्वतन्त्र उम्मेद्वारी दिने लहर छ । स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेद्वारले विजय हासिल गरेपछि झनै स्वतन्त्र उम्मेद्वारहरुलाई टेको मिलेको छ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेको छ । लगत्तै स्वतन्त्र उम्मेद्वारी घोषणा सुरु भैसकेको छ ।
तर कांग्रेस गण्डकीका केही नेताहरुले स्वतन्त्र उम्मेद्वारी भन्दा पार्टीभित्रैबाट संघर्ष गर्न उनीहरुलाई आह्वान गरेका छन् । देश निर्माणको जिम्मेवारी युवासँग भएको भन्दै उनीहरुले पार्टीबाटै संघर्ष गर्न आग्रह गरे ।
कांग्रेसका प्रदेश सदस्य अजित क्षेत्रीले छुट्टाछुट्टै चुनाव लड्नुभन्दा पार्टीबाट टिकट माग्न आग्रह गरे । ‘युवा र नवीन सोच बोक्ने, रुपान्तरण पक्षधर युवाहरुले विभाजित भएर हुँदैन । मुलधारको राजनीतिक दलहरुमा हस्तक्षेप गरेर ५० प्रतिशत युवालाई टिकट वितरण हुने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘स्वतन्त्र उम्मेद्वारी दिन लाग्नुभएका साथीहरुलाई कांग्रेसभित्र समाहित भएर संघर्ष गर्न आग्रह गर्दछु ।’
स्वतन्त्र उम्मेद्वारीबाट केही समय रहर भएपनि नीति निर्माण तहमा हस्तक्षेप नपुग्ने उनको तर्क छ । ‘राम्रो मुभमेन्ट तयार गर्न र त्यसकै बलमा युवा साथीहरूलाइ एजेन्डा सहित खुट्टा टेकाउन सकियो भने सकारात्मक उपलब्धी प्राप्त हुन्छ,’ उनले अघि भने, ‘आर्थिक सामाजिक रुपान्तरण सम्मुनती, सुसासनका लागि क्रियासिल स्वतन्त्र र अरु अभियानमा रहनु भएका साथीहरूलाई आग्रह गर्दछु । आउनुस् कांग्रेसभित्र ।’
यस्तै, युवाहरुको प्रदेशस्तरीय भेला पोखरामा आयोजना गरेर अभियान सुरु गर्न लागिएको अर्का नेता ठाकुर बरालले बताए । ‘युवाहरुलाई नीति निर्माणमा हस्तक्षेपकारी भुमिकामा लैजाने गरी पार्टीलाई दवाव दिनुपर्छ । त्यसका लागि युवा भेला आयोजना गर्ने तयारी छ,’ उनले भने, ‘यसमा पार्टी भित्र र बाहिकार साथीहरु आउन सक्नुहुन्छ ।’