काँग्रेसलाई सोलुखुम्बुमा समानुपातिक भोट सबैभन्दा धेरै

सोलुखुम्बु, मंसिर २६ ।
सोलुखुम्बुमा पत्यक्षतर्फ वाम गठबन्धनसँग पराजित हुन पुगेको कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रोे, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो र नयाँ शक्ति पार्टी नेपाल पाचौँ भएका छन् ।
चुनावमा जम्मा खसेको ४१ हजार ४ सय २० मत गणना गर्दा प्रतिनिधिसभातर्फ कांग्रेसले एमालेको भन्दा ३ हजार ८२ बढी मत प्राप्त गरेको छ । मतपरिणाम अनुसार कांग्रेसले १५ हजार १ सय ४८, एमालेले १२ हजार ६६ , माओवादी केन्द्रले ७ हजार ६ सय ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ८५ र नयाँ शक्ति पार्टी नेपालले ३ सय ७६ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा खसेको कुल मत मध्ये ४ हजार ६ सय ४९ मत बदर भएको छ ।त्यसैगरी प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस पहिलो भएको छ । प्रदेशसभातर्फ एमालेको भन्दा कांग्रेसले २ हजार ९ सय ८९ बढी मत ल्याएर प्रदेशसभामा पहिलो बनेको हो ।
प्रदेशसभातर्फ कांग्रेसले १३ हजार ४ सय ४७, एमालेले १० हजार ४ सय ५८, माओवादी केन्द्रले ८ हजार ३१, राप्रपाले १ हजार ५ सय ५५ र नयाँ शक्ति पार्टी नेपालले ४ सय ६ मत ल्याएका छन् । प्रदेशसभामा खसेको कुल मतमध्ये ६ हजार ७ सय ६३ मत बदर भएको छ ।