काँग्रेसमा उम्मेदवारको आकांक्षीः बहुमतको समर्थन लत्याउँदै १६ जनाकै नाम केन्द्रमा

पोखरा, कार्तिक ६ ।
३ दिन अघि बसेको काँग्रेस कास्की क्षेत्र नम्बर २ को बैठकमा सहमति नजुटेपछि तीन चौथाई भन्दा बढीले देवराज चालिसेलाई नै टिकटका लागि सिफारिस गर्ने निर्णय गरे । उनीहरुले हस्ताक्षर सहित केन्द्रमा पठाएका छन् । तर क्षेत्रीय सभापतिले बहुमतको निर्णय लत्याउँदै १६ जनाकै नाम केन्द्रमा पठाउने निर्णय सहित जिल्ला समितिलाई सिफारिस गरिदिए । जिल्लाले पनि सोही नामावलीलाई समर्थन गर्दै केन्द्रीय समितिमा १६ जनाको नाम सिफारिस गरिदिएको छ । मंगलबार बसेको बैठकले दुवै पक्षका निवेदन सहित राखेर जसलाई उम्मेदवार बनाएपनि हुनेगरी केन्द्रलाई सिफारिस गरिएको जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।

‘क्षेत्रीय कार्यसमितिले क्षेत्रको निर्णय दियो । १ जना वा ३ जनाभित्र आकांक्षी नभएपछि १६ जनाकै नाम पठाईएको हो । पछिल्ला समय दुई खालका धारणा बाहिर आयो । एक पक्ष सबैको पठाउनुपर्छ भन्ने थियो र अर्को चाहीँ देवराज जीको मात्रै नाम पठाउनु उपयुक्त हुन्छ भन्ने पनि थियो,’ केसीले भने, ‘दुवै धारणा आएपछि क्षेत्रले जे निर्णय आएको छ त्यो पत्र समेत राखेर माथी सिफारिस गरिएको हो ।’

क्षेत्रीय समितिमा एउटा मात्रै नाम पठाउने निर्णय नभएको उनको भनाई छ । ‘त्यो निर्णय होईन । मागपत्र सहितको समर्थन हो,’ उनी भन्छन्, ‘क्षेत्रले गरेकै निर्णयलाई टेकेर जिल्लाले निर्णय गरेको हो ।’ यसअघि क्षेत्रीय समितिमा ३९ मध्ये ३१ जनाले चालिसेलाई एकल उम्मेदवार सिफारिस गर्न मागपत्र बुझाएका थिए । निर्वाचनमा सबैलाई समेटेर लैजानुपर्ने भएपछि सबैको नाम पठाईएको केसीले बताए ।

चालिसेसँगै सोभियतबहादुर अधिकारी, क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधु, खेमराज पौडेल, पूर्व मन्त्री महादेव गुरुङ, महासमिति सदस्यहरु ऋषि काफ्ले, कृष्ण कार्की, केशरप्रसाद निर्दोषी, गुरु बराल, खेमकुमारी बराल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्य, पूर्व क्षेत्रीय सभापति निर्मलप्रसाद कर्माचार्य, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, प्रदेश २(क) का सभापति विजय आचार्य र पत्रकार विमला भण्डारीको नाम सिफारिस गएिको छ । सबै निर्णय गर्ने अधिकार क्षेत्रीय समितिलाई भएपनि समितिले ‘रिस्क’ लिन चाहेन र ‘अनिर्णित निर्णय’ जिल्लामा पठाईएको हो ।

त्यसो त क्षेत्रीय समितिमा रहेकाहरु नै उम्मेदवारको आकांक्षी थिए । आफ््नो नाम नपर्ने भएपछि बहुतमतको समर्थनलाई लत्याएर सबैको नाम सिफारिस गरिएको एक नेताले बताए । ‘निर्णय गर्नेहरु नै उम्मेदवारका आकांक्षी थिए । एउटा मात्रै नाम सिफारिस गर्दा आफनो नाम छुट्ने भएपछि यस्तो सिफारिस गरिएको हो,’ ति नेताले भने, ‘सबै समस्या तलै निम्ट्याएर एउटा मात्रै नाम सिफारिस गरेको भए राम्रो हुन्थ्यो । अव झन् चलखेल गर्ने समय बढ्यो । यसको घाटा चुनावमा देखिन सक्छ ।’

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की २ मा उपनिर्वाचन गर्न लागिएको हो । यसअघि पनि अधिकारीसँग चालिसे साढे ८ हजार मतान्तरले पराजीत भएका थिए । पहिले चुनाव हारेको र ५ बर्षका लागि काँग्रेसले चालिसेलाई २ नम्बर क्षेत्रको जिम्मा दिएकाले अहिलेको दावेदार पनि स्वतः उनी नै हुनुपर्ने एकाथरीको तर्क छ । अरु राजनीतिक दलले पनि उम्मेदवार खोजिरहेका छन् ।