कश्यप सहकारीको रक्तदानमा ५९ यूनिट रगत संकलन

 

पोखरा, कार्तिक ८ ।

कश्यप वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । सहकारीको चाँैथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो ।

‘खासगरि रगत अभावमा कोही विरामीले ज्यान गुमाउन नपरोस् भन्ने सोँचले नै हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ, र यस्तै समाजसेवी भाव हामीमा सँधै रहनेछ’ रक्तदान कार्यक्रमका सँयोजक समेत रहेका सहकारीका स्वास्थ्य समिति सँयोजक प्रकाश मल्लले भने ।

सहकारीका अध्यक्ष सितादेवी सुबेदीले सामाजिक उत्तरदायित्वको सवालमा पनि सहकारीले भुमिका खेल्ने बताईन् । आगामी दिनमा पनि यस्तै समाजसेवामुखी कार्यलाई सहकारीले प्राथमिकतामा राख्ने उनले बताईन् । साथै उनले सबै रक्तदातालाई धन्यवाद समेत दिएकी थिईन् ।

रक्तदान कार्यक्रमको उद्घाटन वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले गरेका थिए । उनले सहकारीको माध्यमबाट समाज विकासका धेरै काम गर्न सकिने भन्दै यस्ता संस्थाहरुले वित्तिय नाफाघाटा मात्र हेर्न नहुने बताए ।

त्यस्तै विशेष अतिथि सन्तु सुवेदीले पनि सहकारीको कामको प्रशंसा गरिन् । कार्यक्रममा सहकारीका कार्यसमिति सदस्य सरिता अधिकारीले स्वागत मन्तब्य राखेकी थिईन् ।