कर्मचारी आन्दोलनले मनिपालमा तनाव

प्रकाश ढकाल
पोखरा, चैत २० ।
कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पताल तनावमा छ । सोमबार कर्मचारी र प्रहरीबीच झडपकै स्थिती सिर्जना भयो । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले ११ दिनदेखि अस्पताल प्रशासनमा धर्ना दिँदै आएका थिए । निरन्तरको दवावले पनि प्रशासनबाट माग सुनुवाई नभएको भन्दै कर्मचारीले सोमबार विहान ८ देखि १२ बजेसम्म टिकट काउण्टर बन्द गरेका थिए । प्रशासनले चाहीँ उपचारमा अवरोध गरेको आरोप लगाउँदै प्रहरीको सहयोगले कर्मचारीलाई नियन्त्रणमा लिएको हो । दुईपक्ष बीच केही बेर अस्पतालभित्रै झडप भयो । झडपमा परि ३ कर्मचारी घाईते भए भने दर्जन भन्दा बढी कर्मचारी प्रहरी नियन्त्रणमा परे । राजबहादुर घर्ति, कर्णबहादुर केसी र अमरबहादुर गुरुङ घाईते भएका हुन् । घर्ति र केसीलाई बढी चोट लागेको छ । तीनैजनाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ । सोमबार पक्राउ परेका २० जना कर्मचारीलाई मंगलबार बार्ता बस्ने सहमति पछि साँझ छोडिएको छ ।
तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । “१ सय ८० दिन सञ्चित विदा पाउने अधिकार छ । हामीलाई ६० दिनभन्दा बिदा दिँदैन, आन्दोलनरत एक कर्मचारीले भने–५ बर्षदेखि अस्थायीमा धेरै कर्मचारी काम गरिरहेका छन् । उनीहरुलाई तत्कालै स्थायी गरिनुपर्छ ।” उनका अनुसार नेपालीको १५ सय बढाउँदा भारतीय कर्मचारीको डेढ लाख बृद्धी हुन्छ । “अस्प्तालले सँधै र बोनस खाने, बाहिरचाहीँ सँधै आन्दोलन भएको देखाउने, उनले भने–यो सरासर ठग्ने काम हो । हाम्रो माग तत्कालै सम्बोधन गरियोस् ।” कर्मचारीहरुले ११ दिनदेखि लगातार धर्ना दिँदै आएका मनिपालका कर्मचारी पविन बास्तोलाले जानकारी दिए । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले चाहीँ सेवामा अवरोध गरेका कारण नियन्त्रणमा लिनुपरेको बताए । “कर्मचारीले माग्ने प्रशासनसँग हो । विरामीलाई उपचारमा रोक्ने होईन, उनले भने–गलत गरे प्रहरीले नियन्त्रणमा लिन्छ ।” यसबारे मनिपालका प्रशासन प्रमुख भानु भारध्वाजसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
यसैबीच, मनिपालमा कार्यरत कर्मचारीहरुले सोमबार नै विज्ञप्ती निकालेर घटनाको भत्र्सना गरेका छन् । मनिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन इकाई र अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल इकाईले संयुक्त विज्ञप्ती निकालेर माग सम्बोधनका लागि पहल गरिदिन सरोकारवालासँग आग्रह गरेका हुन् । ‘प्रशासन र कर्मचारी युनियन समन्वय समिति बीच सम्झौता गरेर हरेक २ बर्षमा आफ्ना माग राख्न पाउने सहमति भएको छ । सोही अनुसार गएको असार महिनामा माग राखेका थियौं, विज्ञप्तीमा भनिएको छ–पटक पटक ध्यानाकर्षण गराएपनि मागका बिषयमा प्रशासन लचक भएन । हामीमाथी अन्याय भएको छ ।’
मनिपाल शिक्षण अस्पतालमा हरेक बर्षजसो विभिन्न मुद्धामा आन्दोलन चलिरहन्छ । कहिले चिकित्कसहरु नै आन्दोलनमा उत्रिन्छन् भने कहिले विद्यार्थीको आन्दोलन चल्छ । अस्पताल प्रशासनले गरेका सम्झौता कार्यान्वयन नगरेको गुनासो सहित धेरै पटक अस्पतालमा आन्दोलन भैरहेको छ । यसको दीगो ब्यवस्थानको माग सबै आन्दोलनरत पक्षले गरेका छन् । तर अस्पताल प्रशासनले यसप्रति चासो नदिईएको उनीहरुको गुनासो छ । अस्पतालमा दैनिक ७ सय सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।