कर्मचारीले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्छ : मुख्यमन्त्री गुरुङ

 

पोखरा, भदौ २२ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामति कर्मचारीहरुले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्ने बताएका छन् ।

निजामति सेवा दिवसको अवसरमा आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले विगतको जस्तो परम्परागत सेवा प्रवाहले जनताका आकांक्षा पुरा गर्न नसकिने स्पष्ट पारे । देश संघीयतामा गएर प्रदेश र स्थानीय तहको संरचनामा पुगे पनि कर्मचारीको कार्यशैली सोही भावमा परिवर्तन हुन नसकेको मुख्यमन्त्रीको संकेत थियो ।

संघ सरकारले कर्मचारीलाई खटाउदा जिम्मेवारीवोध गराउन नसक्नु गल्ती भएको उनले बताए । ‘हामीले केन्द्रिकृत व्यवास्थालाई संघीयतामा कायम ग¥यो, तर प्रदेशमा खटाएका कर्मचारीलाई एक दिन पनि यसबारेमा तालिम दिएनाँै, यसले पनि कर्मचारीले दिने सेवा केही असर पक्कै परेको छ’ उनले थपे । प्रदेश लोक सेवा विधियक पारित भैसकेकोले अब आफ्नो मातहतको कर्मचारी, यसको सेवा सुविधा र कामको संरचनामा केही नयाँपन आउने संकेत पनि मुख्यमन्त्री गुरुङले गरे ।

गण्डकी प्रदेशले यसअघि नै स्टाफ कलेजसंगको सहकार्यमा प्रदेशको कर्मचारी संरचना हेरफेरको तयारी गर्दैछ ।

राज्यको निति, योजना र कानुनको सफल कार्यन्वयन गराउन राजनितिक नेतृत्वसंगै कर्मचारीको महत्वपुर्ण भुमिका हुने मुख्यमन्त्रीले बताए ।

कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारीले संविधानको मर्म र भावाना अनुकुल कर्मचारीले सेवा दिन सक्नुपर्ने बताए । संविधानले जनतालाई सबैभन्दा उच्च पदमा राखेकाले कर्मचारीको जनताप्रतिको सेवा प्रवाह सोही अनुसार हुनुपर्ने बताए ।

प्रदेश प्रमुख सचिव हरि प्रसाद बस्यालले राजनितिक नेतृत्वले गर्ने निर्णयको कार्यान्वयन गर्ने महत्वपुर्ण निकाय निजामति क्षेत्र भएकोले सोही अनुसार आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिए ।

कार्यक्रममा विभिन्न ट्रेड युनियनका नेताहरुले हालको निजामति सेवा विधियकले निजामति कर्मचारीका अधिकारहरु धेरै कटौती गरिएको भन्दै यसमा संशोधन गर्न माग गरेका थिए ।

२०१३ सालमा निजामति जंगी ऐन देशमा लागु भएको दिन भदौ २२ गते नेपालमा निजामति दिवस मनाउदै आएको छ ।

यस बर्ष पनि सक्षम निजामति प्रशासन, विकास समृद्धि र सुशासन भन्ने नारा सहित यो दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।