कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी

काठमाण्डौं, बैशाख २९ ।
नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरिएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो ।

निजामती कर्मचारीले हाल खाइपाइ आएका मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले सिफारिस गर्ने भएको छ । कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले बताएका छन् ।

महँगीअनुसार कर्मचारीको तलब बढाउनुपर्ने कानुनी व्यवस्था छ । तर तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । यसपटक भने बढ्ने सरकारकै उच्च अधिकारीले बताउँदै आएका छन् । यस्तै यसपटक वृद्धभत्ता पनि १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार आउने जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्दैछ । यसअघि सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम अहिले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी बजेट निर्माणमा व्यवस्त भएका छन् ।