करेन्ट लागेर २ जनाको मृत्यु, एक घाइते

जनकपुरधाम, माघ ५ ।
जनकपुरमा करेन्ट लागेर २ जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिकाका ३४ वर्षीय जगरनाथ मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगरनाथ साहको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोललाई अड्याउनको लागि बाँधिएको तारमा प्रवाहित करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मोटरसाइकल सडकबाट चिप्लिएर नजिकैको बिजुलीको पोलमा ठोक्किँदा उक्त घटना भएको हो । पोललाई सपोर्टको लागि बाँधिएको तारबाट करेन्ट प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ ।

जग्गा निरिक्षण गर्नजाने क्रममा ज९प ७७०९ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको दुर्घटनापछि करेन्ट लाग्दा मृत्यु भएको हो । सुरुमा एक व्यक्तिलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा अर्को व्यक्तिलाई पनि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उनीहरुलाई बचाउन गएका अर्का व्यक्ति सिरहा विष्णुपुर गाउँपालिका थलहाका निवासी सूर्यनारायण ठाकुरलाई पनि करेन्ट लागेर घाइते भएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

नेपाल विद्युत प्राधिकरण धनुषाको लापरबाहीले मानवीय क्षति भएको स्थानीयले आरोप लगाएका छन् । मृतक दुबै जना जग्गा व्यापारी रहेको खुलेको छ । उक्त घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।