कम्युनिष्टहरुलाई गोर्खा भर्तीको विरोध नगर्न धरानका मेयर राईको आग्रह

गिता राना मगर
धरान, मंसिर १८ ।
धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिष्टहरुले गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद भएको वताएका छन । कम्युनिष्टहरुले गोर्खा भर्तीबाट अवकास प्राप्त गरेका लाहुरेहरुबाट पैसा र चन्दा लिएर चुनाव जित्ने र चुनाव जितेर गएपछि गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद काम भएको वताएका हुन ।

बुधवार धरानको भेडेटारमा नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनको आठौ वार्षिक साधारण सभामा वोल्दै मेयर तिलक राइले कम्युनिष्टहरुले गोर्खा भर्तीको विरोध गर्नु आफैमा लज्जास्पद भएको वताएका हुन । विभिन्न कालखण्डमा परिस्थिती र बाध्यताका कारण हाम्रा पुर्खाहरु गोर्खा भर्तीमा भर्ना हुनुपरेको वताउदै राइले त्यसवेलाको सन्धि सम्झौताहरुलाई खोजेर नियम संगत तरिकाले गोर्खा भर्तीको बारेमा चासो लिन समेत कम्युनिष्ट सरकारलाई आग्रह गरे ।

गोर्खा भर्तीकै कारण धरान र पोखरा शहर विकसित शहरको रुपमा परिणत भएको वताउदै राइले गोर्खा भर्तीलाई भन्दापनि कम्युनिष्ट सरकारले ५० डिग्रीको घाममा काम गर्ने युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने वताए । गोर्खा भर्ती आफैमा सुरक्षित जीवन आधार तय गर्ने माध्याम बनिरहेको छ मेयर राइले भने अन्य खाडी मुलुकमा जानेहरुको जीवन आफैमा सुरक्षित छैन त्यसैले गोर्खा भर्तीलाई भन्दापनि खाडीमा जाने युवालाई रोक्न सरकारले विशेष ध्यान जरुरी देखिन्छ । मेयर राइले नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन आफैमा ब्यवशायीक तालिम केन्द्र भएतापनि यो संस्थाले युवाहरुलाई अनुशासित ढंगले अगाडी वढ्न समेत प्रेरित गरेकोमा संस्थालाई धन्यवाद समेत दिए ।

त्यस्तै नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनका प्रमुख संरक्षक क्याप्टेन राम प्रसाद गुरुङले आफुहरुको संस्था ब्यवशायीक संस्था भएतापनि ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएपछि भर्ती भएर जानेले त आफैमा आफ्नो जीवन सुरक्षित बनाउने गरेको र भर्ती नहुनेहरुले पनि अनुशासन र मर्यादालाई पालना गर्ने काम सिक्ने गरेको वताए । युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना नहुदा युवाहरुलाई गोर्खा भर्तीमा भर्ना हुने रहर नभइ बाध्यता भएको उनको भनाई रहेको थियो ।

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका केन्द्रिय अध्यक्ष मिनराज गुरुङले गोर्खा भर्तीको बारेमा राजनैतिक दलहरुले वेला वेलामा कुरा उठाउने सरकारलाई दवाव दिनुभन्दापनि आफुहरुकोे संस्थालाई बन्द गर्न आग्रह गर्नुभन्दापनि नेपाल सरकार मार्फत इष्ट इण्डीया कम्पनी संग भएका सम्झौताको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिए । यसरी इष्ट इण्डीया संगको सम्झौताको बारेमा नेपाल सरकारले आवाज नउठाउदा सम्म नेपाली युवाहरु गोर्खा भर्तीमा भर्ना भइरहने र अर्काको गुलामी, मलामी र सलामीमा मात्र युवाहरुले जीवन ब्यथित गर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रमको संचालन संस्थाका महासचिव राजेश पाख्रिनले गरेका थिएभने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष गोपाल राइले गरेका थिएभने नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यसमिति सल्लाहकार सुजेन्द्र गोले, नेपाली हङकङ महासंघका अध्यक्ष टंक राना लगायतले वोलेका थिए ।

सो अवसरमा नवनिर्वाचित मेयर राइलाई संस्थाको तर्फबाट बधाइ सहित अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा धरान क्षेत्रका सचिव विमानसिंह तामाङ, पोखरा क्षेत्रका सचिव सुवेदार जीत बहादुर गुरुङ र काठमाण्डौ क्षेत्रका सदस्य नवीन गुरुङ बाट प्रगति प्रतिवेदन र केन्द्रीय कोषाध्यक्ष सुवेदार केहर सिंह गुरुङले आर्थिक प्रतिवेदन र केन्द्रीय महासचिव राजेश पाख्रिनले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।