कम्युनिजम विश्वमै टिक्दैन–भट्टराई

पोखरा, कार्तिक १४ ।
नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार डा. बाबुराम भट्टराईले पूरानै शैलिका कम्युनिष्ट पार्टीहरु विश्वबाटै विलय हुने दावी गरेका छन् । पोखरामा बसोबास गर्ने गोरखाली समुदायसँग सोमबार अन्तरक्रिया गर्दै उनले संसारले नै असफल मानेको कम्युनिजम नेपालमा झनै ब्यवहारिक नभएको जिकिर गरे । ‘सीमित देशहरुमा निश्चित समयका लागि कम्युनिजम चल्यो । अहिहले मै हुँ भन्ने कम्युनिष्ट केन्द्रहरु पनि परिमार्जित भएका छन्, उनले भने–यो अवस्थामा नेपालमा कम्युनिष्ट केन्द्र बनाउने कुरा असामान्य हो । यसले समृद्धीतिर लैजान सक्दैन ।’
माओबादी र एमालेको कम्युनिष्ट गठबन्धनतर्फ लक्षित गर्दै उनले गठबन्धनले क्षणिक सहयोग गरेपनि कालान्तरमा दुवै पार्टी परिमार्जित हुने विश्वास ब्यक्त गरे । दुवै पार्टीबीच सीट बाँडफाँडका लागि गठबन्धनका लागि तयार देखिएका उनको आरोप छ । कम्युनिष्ट गठबन्धनको तयारीले नयाँ शक्ति चुनावी तालमेलबाटै बाहिरिएको भट्टराईको स्पष्टोक्ति छ । ‘चुनावी तालमेलका लागि आग्रह गरेपछि एमाले माओबादीसँग सहकार्य गर्न तयार भयौं । तर वहाँहरु पार्टी एकीकरणसम्मको कुरा गर्न थाल्नुभो, चित्त नबुझेर तुरुन्तै हामी फर्कियौं, उनले भने–सीट नमिलेर बाबुराम बाहिरियो भन्ने समाचार आएको छ । यो विल्कुल झुठो हो ।’
आफ्नो पार्टी बाम लोकतान्त्रीक पार्टी भएकाले काँग्रेससँग सहकार्य गर्न समस्या नभएको भट्टराइको तर्क छ । ‘लोकतन्त्रका हिसावमा हामी काँग्रेससँग नजिक छौं । सिद्धान्त कम्युनिष्टसँग मिल्दोजुल्दो छ, उनी भन्छन्–देशमा अव काँग्रेस कम्युनिष्टबीचको दुरी घटाउनुपर्छ । विकास र समृद्धीका लागि बाम लोकतान्त्रीक धार उत्तम हो ।’ गोरखाले आँफुसँग ठूलो अपेक्षा गरेको भन्दै जुनसुकै हालतमा आँफैले जित्नुपर्ने उनले बताए । आउँदो चुनाव सामान्य खालको हैन । यसले दीर्घकालीन अर्थ राख्छ, भट्टराई भन्छन्–संविधान कार्यान्वयन र समृद्धीको थालनी यसैबाट सुरु हुन्छ । विचार गरेर मतदान गरिदिनुहोला ।’ गोरखामा नयाँ शक्तिले काँग्रेससँग सहकार्य गरेको छ । अरु जिल्लामा पनि आवश्यक्ता अनुसार तालमेल हुने भट्टराईले जानकारी दिए । कार्यक्रम संयोजक तिलक तिवारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।