ओली र प्रचण्ड को प्रधानमन्त्री ? (नेताका आ–आफ्नै अभिब्यक्ति)

काठमाण्डौं, मंसिर २८ ।
नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा ल्याउने मुख्य व्यक्ति नै केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल भए पनि प्रधानमन्त्रीका लागि सबै हिसाबले ओली नै उचित भएको बताए ।
प्रधानमन्त्रीको विषयलाई लिएर गठबन्धनभित्र विवाद आउन नहुनेमा बस्नेतले जोड दिएका छन् । विवाद भयो भने जनतामा आएको उत्साह मरेर निराशा छाउने बस्नेतले बताए । नेताहरुको ब्यवस्थापन महाधिवेशन मार्फत कार्यकर्ताले गर्ने बस्नेतको भनाई छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर मात्रै नेताहरुको व्यवस्थापन हुने कुराको पछाडि लाग्न नहुने उनको भनाई छ ।
यता माओवादी नेता चक्रपाणी खनालले भने चुनावी नतिजा अएपछि छलफल गरेर प्रधानमन्त्री र पार्टी एकता अनि पार्टी अध्यक्षबारे टुङ्गो लगाइने बताएका छन् । अबका दिनमा साठी चालिसको भागबण्डा अन्त्य गर्नुपर्नेमा खनालले जोड दिएका छन् ।
प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएलगत्तै दुई दलवीच शक्ति बाँडफाँडमा छलफल सुरु भएको छ । उच्च श्रोतका अनुसार माओवादी र एमालेले प्रधानमन्त्री र पार्टी अध्यक्षमा कुरा मिलाउने र सोही अनुसार पार्टी एकता हुनेछ । यद्यपी को प्रधानमन्त्री र को पार्टी अध्यक्ष भन्ने टुंगिएको छैन । केही नेताहरुले सार्वजनिक रुपमै आँफु पक्षीय लविङ र अभिब्यक्ति दिन थालेका छन् ।