एसियाका १३ मनोरम वस्तीको सूचीमा कास्कीको घान्द्रुक

पोखरा, भदौ ११ ।
कास्कीको घान्द्रुक एसियाका मनोरम १३ वस्तीको सूचीमा परेको छ। विश्वप्रख्यात समाचार संस्था सीएनएनले बुधबार प्रकाशित गरेको सूचीमा घान्द्रुक पनि परेको हो । पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने उल्लेख गरिएको छ । सीएननले घान्द्रुकलाई मध्य नेपालको सुन्दर ठाउँ भनेको छ ।

परम्परागत शैलीका कलात्मक चिया घर, चालचलन, पहाडको टुप्पोमा रहेका मन्दिर, स्थानीय परिकारलगायतको पनि सीएनएन ट्राभलले प्रशंसा गरेको छ । घान्द्रुकमा गुरुङ समुदायको जीवनशैली र संस्कृति पनि नजिकबाट नियाल्न सकिने बताइएको छ ।

घान्द्रुक प्राय गरि अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेशी पर्यटकहरुमा एक परिचित गन्तब्यको रुपमा लिईन्छ ।

घान्द्रुकका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रम बराह, तौजीबराह, कोटडाँडा, गुम्बा, ङयोवराह जस्ता स्थलले पनि यहाँको पर्यटनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सीएनएनको सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटी अफ् भिगन, लाओसको लुआङ प्रबाङ र कम्बोडियाको काम्पोट लगायत पनि रहेका छन् ।