एसपी सिहंलाई तमु धिंको सम्मान

पोखरा, बैशाख २७ ।
तमु धिं नेपालले कास्कीका एसपी अशोक सिंहलाई सम्मान तथा विदाई गरेको छ । एक कार्यक्रमका बीच तमु धिं नेपालकी अध्यक्ष कर्मा तमु र सल्लाहकार कर्नेल रामकाजी गुरुङले एसपी सिंहलाई सम्मान गरे । सल्लाहकार गुरुङले लिडर राम्रो भए संस्था आँफै राम्रो बन्ने बताए । एसपी सिंह कास्कीमा आएपछि जिल्लाको अपराध न्यूनिकरण भएको भन्दै उनले राम्रा मान्छे लामो समय एउटै ठाउँमा भए समाज परिवर्तन गर्न सकिने धारणा राखे । उनले नेपालमा छिटो सरुवा हुने परम्परा अन्त्य गरी एउटै ब्यक्तिलाई धेरै समयसम्म संस्था हाँक्ने जिम्मेवारी दिनुपर्ने बताए ।

तमु धिं नेपालकी अध्यक्ष कर्मा तमुले बसाई छोटो भएपनि कास्कीले सँधै सम्झिरहने बताईन् । ‘ब्यक्तिगत रुपमा धेरैसँग एसपीको भेट भएको छैन । तर तपाईंको कामले परिचय विस्तार गरेको छ, उनले भनिन्–असल ब्यक्तिले संस्था कति असल हुन्छ भन्ने तपाईंको कार्यकालले प्रष्ट्याएको छ ।’ जुवातास नियन्त्रण, लागु औषध, अपराध नियन्त्रण, ट्राफिक ब्यवस्थापन सहित मिटर ट्याक्सी चलाउने अभियानमा एसपी सिंहको काम प्रसंसनीय रहेको तमुको भनाई छ ।

महासचिव गिरीप्रसाद गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष सरस्वति गुरुङले स्वागत गरेकी थिईन् भने आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले पनि बोलेकी थिईन् । कार्यक्रममा प्रथम उपाध्यक्ष गुरुङले अपराध नियन्त्रणको जग बसिसकेको भन्दै सरुवा भएर आउने नयाँ एसपीले यसलाई निरन्तरता दिनुपर्ने बताईन् ।

एसपी अशोक सिंहले सबैको साथ र सहयोगले केही गर्ने मौका मिलेको बताए । ‘म एक्लै भएको भए अहिलेको प्रगति हुने थिएन, उनले भने–म कास्की आएदेखि सबैको सकारात्मक सहयोग पाएँ । आगामी दिनमा पनि सबैको साथले देशको सुरक्षार्थ लागिरहने छु ।’

तस्विर-भुपाल गुरुङ