एमाले कास्कीमा नेपाल पक्षलाई अबरोध, सिफारिस नै विवादित

पोखरा, असोज १८ ।
नेपाल पक्षधर नेताहरुलाई पन्छाएर उम्मेदवार सिफारिस गरेपछि एमाले कास्कीमा उम्मेदवार छनौट नै विवादित बनेको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा चुनावका लागि सम्भावित उम्मेदवार सीता गिरी वलीलाई बञ्चित गरेपछि उम्मेदवार छनौट विवादित बनेको हो ।
विवादकै बीच ३ नम्बर क्षेत्रबाट प्रतिनिधी सभाका लागि जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम केन्द्रमा सिफारिस भएको छ । सांसद समेत रहेकी वलीले असहमति जनाएपनि सुनुवाई नभएको नेपाल पक्षधर नेताहरुको दावी छ । उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिएपनि आँफु चुनावी प्रक्रियामा सहभागी नै नभएको वलीले बताएकी छिन् ।
पुरुषतर्फ २ र एकजना महिला उम्मेदवार सिफारिस गर्ने केन्द्रको निर्देशन अनुसार नै सिफारिस गरिएको एमाले कास्कीले जनाएको छ । पुरुषतर्फ समस्या नभएपनि महिलामा दुईजना आकांक्षी देखिएपछि भोटिङ सिस्टमबाट उम्मेदवार छनौट भएको एमाले श्रोतको भनाई छ । वली विरोधका बीच बाहिरिएपछि कोइराला स्वतः उम्मेदवारमा सिफारिस भएकी हुन् ।
वली दोस्रो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित र केन्द्रिय सदस्य समेत हुन् । माधव नेपाल पक्षका उनलाई रोक्नकै लागि भोटिङ गरिएको नेपाल पक्षधरको बुझाई छ । ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पु¥याएको उनीहरुको ठम्याई छ । वलीले भने असहमतिकै बीच गरिएको सिफारिस मान्य नहुने प्रतिक्रिया दिएकी छिन् ।
केन्द्रले सहमतिमा नाम सिफारिस गर्न भनेको हो । यहाँ भोटिङ भनेर मलाई पाखा लगाईयो, उनले भनिन्–यहाँ त सुरुमै तगारो लगाउने काम भो । पार्टीको प्रदेश र केन्द्रको पनि ध्यानाकर्षण हुनुपर्छ ।’ एमालेले प्रतिनिधि सभा चुनावका लागि कास्की क्षेत्र नम्बर १ बाट खगराज अधिकारीलाई सर्वसम्मत सिफारिस गरिसकेको छ । पार्टी एकीकरण र चुनावी तालमेलका कारण २ नम्बर क्षेत्रको नाम भने सिफारिस गरिएको छैन ।