एन प्याब्सान कास्कीको हाजिरी जवाफमा पुष्पसदन प्रथम

 

पोखरा, साउन २५ ।

नेशनल प्याब्सान कास्कीको अयोजनामा १५ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेशनल प्याब्सान कास्कीमा आवद्ध विद्यालयहरुबीच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा पुष्पसदन एकेडेमी प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्वितीय, ज्ञानज्योति वोर्डिङ स्कूल तृतीय र डायमण्ड मोडल स्कूल सान्त्वना भएका थिए ।

विजयी विद्यार्थीलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा प्रकाश कलेल, विचित्र न्यौपाने, प्रकाश तिवारी र ऋषिकेश श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले पढाईको अलावा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरी विद्यार्थीमा क्षमता अभिवृद्धि गर्ने काममा एन प्याब्सन अग्रस्थानमा रहेको बताए ।

कार्यक्रममा नेशनल प्याब्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, नेशनल प्याब्सान कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, सदस्य रमेशराज पौडेलले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विक्रम सुवेदीले स्वागत र सदस्य अर्जुन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतियोगितामा ४१ वटा विद्यालयको सहभागिता रहेको थियो ।