एन्फा कास्कीको लापरबाही–बिजेतालाई महिनादिनसम्म दिएन पुरस्कार

पोखरा, फागुन १४ ।
अघिल्लो महिना आयोजना गरिएको मनकामना केवलकार पोखरा कपको बिजेताले महिनादिन वितिसक्दा पनि पुरस्कार पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको प्रतियोगिताको बिजेता क्यामरुनी टोली डफिन्स क्लवले ७ लाख ५५ हजार र उपविजेता एपिएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार अहिलेसम्म नपाएको बताएका छन् ।

माघ २७ गते सकिएको प्रतियोगिताको पुरस्कार लामो समयसम्म पनि नदिएर उल्टै झुलाईरहेको उनीहरुको आरोप छ । उपबिजेता टोलि एपिएफका टीम ब्यवस्थापक अमित मल्लले प्रतियोगिता आयोजकले नै अनावश्यक रुपमा झुलाईरहेको आरोप लगाए ।

‘हामी पोखराबाट निस्किने बेला चेक मागेका थियौं । कोचलाई दिन्छु भनेर मलाई दिनुभएन । कोचलाई पनि दिनु भएको रहेनछ, उनले भने–त्यसपछि लगातार पछ्याईरहेका छौं । अहिलेसम्म दिनुभएको छैन ।’ पैसा भन्दा पनि पोखराको इज्जतसँग जोडिने भएकोले आँफुहरु केही नबोलेको उनले बताए ।

‘पोखराकै इज्जतको कुरा हो । यस्ता घटनाले अरु प्रतियोगितालाई पनि असर गर्छ, डिएनएसँग उनले भने–अव केही दिन कुर्छौं नदिए सबैको साथले अरु प्रक्रिया गरौंला ।’

प्रतियोगितामा प्रयोग गरिएका होटलहरुमा पनि पैसा बुझाउन बाँकी रहेको सुनिएको छ । अघिल्लो बर्षको प्रतियोगितामा पनि आर्थिक पक्ष निकै विवादित भएको थियो । अहिले पनि त्यही नियति दोहोरिने धेरैको आशंका छ ।

यसबाहेक अन्य पुरस्कारको राशी समेत नपाएको पुरस्कार बिजेताहरुले बताएका छन् । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले चाहीँ केही दिनभित्रै सबैको रकम चुक्ता गरिदिने बताएका छन् । प्रायोजकबाट पैसा नउठेकोले समस्या भएको भन्दै उनले केही दिनमै सबैलाई पैसा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।