एनप्याब्सन कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र

 

पोखरा, मंसिर २१ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रदर्शनी मंसिर २४ देखि २७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्देश्यले तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा लोकनृत्य प्रतियोगिता गर्न लागेको नेशनल प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् । प्रदर्शनीमा नेशनल प्याव्सान कास्कीका ४६ वटै विद्यालय सहभागिता रहने र करिव १ लाख वढिले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

शैक्षिक प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्रीहरु शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरूद्वारा निर्माण गरिने भएका छन् ।

प्रदर्शनीमालाई सफल बनाउनका लागि विभिन्न १० वटा उपसमिति गठन गरिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा प्रेमराज अधिकारी, टेन्ट मञ्च व्यवस्थापन तथा सजावट उपसमितिको संयोजकमा केशवशरण पौडेल, स्वास्थ्य उपचार तथा खानेपानी व्यवस्थापन उपसमितिको संयोजकमा सञ्जय पौडेल, लोकनृत्य व्यवस्थापन उपसमितिको संयोजकमा प्रेमराज अधिकारी, दर्शक तथा सुरक्षा व्यवास्थापन उपसमितिको संयोजकमा राजु केसी रहेकका छन् ।

त्यसैगरी पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा रत्नाकुमारी गुरुङ, सचिवालय उपसमिति संयोजकमा मनकाजी गुरुङ, विधागत व्यवस्थापन उपसमिति संयोजकमा शिवदत्त तिवारी, अतिथि सत्कार उपसमिति संयोजकमा रामबहादुर मोची र न्यायिक छानविन तथा मुल्याङ्कन उपसमिति संयोजकमा हेमन्त अधिकारी रहेका छन् ।

विद्यालयहरूमा शिक्षक र विद्यार्थीका लागि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको नेशनल प्याब्सान कास्कीले विद्यार्थीहरूका लागि समयानुकूल एवम् वैज्ञानिक शिक्षण सिकाइ क्रियाकलापहरू प्रस्तुत गर्ने हेतुले जिल्लास्थित सम्पूर्ण सदस्य विद्यालयहरूको संयुक्त आयोजनामा बर्षेनि विविध शैक्षिक, बौद्धिक, मनोवैज्ञानिक एवम् खेलकूद सम्बन्धि क्रियाकलाप गर्दै आइरहेको नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले जानकारी दिए ।

शैक्षिक प्रदर्शनीका साथमा सांस्कृतिक सम्पदामा धनी नेपालको गरिमा अझ बढाइराख्न सहयोग पुगोस् भन्दै नियमित गरिदै आएको लोकनृत्य प्रतियोगिता पनि एकैसाथ प्रस्तुत गरी साङ्गीतिक र सांस्कृतिक मनोरञ्जन समेत प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

लोकनृत्य प्रस्तुति ७ देखि १२ जनाको समूहमा प्रस्तुत गरिने छ । लोक भाषा संस्कृति झल्कने गितमा समूहमा प्रस्तुत गरिने प्रतियोगितामा पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

‘यो प्रदर्शनीमा सवैको सहयोगको खाँचो छ, अध्यक्ष अधिकारीले भने, ‘नेशनल प्याब्सान कास्की अन्तर्गतका ४६ वटै विद्यालयबाट आत्मीयता, रचनात्मक सहयोग एवम् सद्भावको अपेक्षा गरेका छौ ।’

नेशनल प्याव्सान कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीले प्रदर्शनीले उत्साहित बनाएको बताए । ‘अघिल्ला पटक गरेको प्रदर्शनीबाट विद्यार्थीहरुले गरेका सृजनाले हामीलाई सरप्राइजन दिलायो’ मोचीले भने,‘अहिले विद्यालयका विद्यार्थी नयाँ नयाँ सृजना गर्नमा नै व्यस्थ छन् । यसले के देखाएको छ भने घोकन्ते विद्या मात्रै होइनकी व्यवहारी ज्ञानको खाँचो छ ।’

शिक्षण सिकाइमा नयाँ प्रविधिसग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन यस किसिमको कार्यक्रमको आयोजना गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख शिवदत्त तिवारीले जानकारी दिए ।

करिव ११ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको उक्त प्रदर्शनीमा प्रवेश निशुल्क राखिएको छ ।