एनआरएनए महिला विभागको आग्रहः ‘नेपालीलाई घर फर्काउ’

पोखरा, जेठ ७ ।
गैर आवासीय नेपाली संघ, एनआरएनए अन्तर्गतको महिला विभागले विश्वभर छरिएर रहेका नेपालीहरलाई नेपाल फर्काउन सरकारसँग माग गरेको छ । विभागको विभिन्न मितिमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुको दैनिकी जटिल बन्दै गएको भन्दै तत्कालै सुरक्षित हिसावले नेपाल फर्काउन आग्रह गरेको हो ।

एनआरएनए उपाध्यक्ष एवं महिला तथा यूवा विभाग संयोजक रवीना थापा र महिला विभाग संयोजक भूमादेवी लिम्बुले संयुक्त विज्ञप्ती जारी गरी कोरोनाका कारण समस्यामा परेका नेपालीको उद्धार गर्न माग गरिएको हो । ‘सबैजसो मुलुकमा रहेका नेपाली गर्भवती महिला र बच्चाहरुमा ज्यानको खतरा बढ्दै गएको छ । उनीहरुले राहत पाएपनि सरसफाई र सुरक्षा सामग्री पाउन सकेका छैनन् । उनीहरुको स्वास्थ्य सुरक्षाको लागि सम्बन्धित मुलुकमा रहेका नेपाली राजदुतावाससँग आग्रह गर्दछौं,’ एक प्रेस विज्ञप्ती जारी गरी विभागले भनेको छ, ‘आवश्यक कागजपत्र तयार गरेर अलपत्र नेपालीहरुलाई सुरक्षित हिसावले तत्कालै घर फर्काउन सरकारले पहल गरोस् ।’

विदेशबाट फर्किएका नेपालीलाई होटलहरुमा क्वारेन्टाइन बनाएर राख्न विभागको सुझाव छ । ‘नेपालका होटलहरु बन्द छन् । त्यसलाई क्वारेन्टाइनको रुपमा चलाउन सकिन्छ,’ एनआरएनए उपाध्यक्ष एवं महिला तथा यूवा विभागकी संयोजक रवीना थापाले भनिन्, ‘क्वारेन्टाइनमा बस्ने खर्च सरकारले दिन सक्दैन भने एनआरएनए महिला विभागले ब्यहोर्ने छ ।’

उनका अनुसार धेरै देशहरुमा नेपालीको जागिर गुमेको छ । कोरोनाका कारण विश्वभर रहेका नेपालीहरुमा परेको विभिन्न समस्याबारे महिला विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एनआरएनए अन्तर्गत एनसीसी, महिला संयोजकहरु, महिला नेतृहरुसँग चरणबद्ध रुपमा बैठक बसेर नेपाली समुदायको पक्षमा गम्भीर हुन सरोकारवालासँग माग गरेको छ ।

यस्तै, लकडाउनका कारण विदेशमा बस्ने नेपालीहरुबीचमै घरेलु हिंसाका घटना बढ्दै गएकोप्रति पनि विभागले ध्यानाकर्षण गरेको छ । ‘यो एउटा विशाल मुद्धा बनेर आएको छ । यस्तो संवेदनशील बिषयलाई सम्हाल्न निकै चुनौतिपूर्ण पनि छ । अग्रजहरुको समेत सल्लाहले हिंसा पीडितहरुलाई सकेसम्म सामाजिक न्याय दिने गरी विभागले काम गर्ने निर्णय भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘परिवारमा हुने खटपट, आर्थिक संकटका कारण आइपरेका समस्याहरु, मानव तस्करी, धम्की वा दवाव देखाएर असुली गर्ने, कुटपिट लगायत समस्या बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव घरभित्र पर्छ । जसका कारण परिवारकै सदस्यहरु बीच दुरी बढ्दै गएको छ । यसमा गम्भीर हुन सम्बन्धित पक्षमा आग्रह गर्दछौं ।’

महिला संयोजक भाेमादेवी लिम्बुले सामान्य मनमुटावले समेत विकराल अवस्था सिर्जना हुन थालेको घटना धेरै सुनिएको बताईन् । ‘हिंसा हुनै नदिने हाम्रो पहिलो प्रयास हो । यदी हिंसा भईहाल्यो भने पीडितलाई अधिकतम न्याय दिन विभाग तत्पर छ,’ सहजीकरण समितिकी संयोजक समेत रहेकी लिम्बुले भनिन्, ‘हिंसा न्यूनिकरणका लागि विभागले दोश्रो बैठकबाट निर्णय गरेर हटलाइन सेवा सुरु गरिसकेको छ । ‘हिंसा गर्नेलाई १५ दिन क्वारेन्टाइनमा राखौं’ भन्ने अभियानका साथ हिंसा न्यूनिकरणका लागि विभागले सहजीकरण गर्ने निर्णय भएको छ ।’

हिंसा सम्बन्धि कसैलाई केही समस्या परे ९७७–९८०८३२५५५५ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ । कोरोना भाइरस सबैको साझा दुश्मन भएकोले यसको अन्त्यका लागि पनि साझा अभियान आवश्यक पर्ने विभागले जनाएको छ ।