एनआरएनएको विज्ञ सम्मेलनमा लफडाः समान सहभागिताको माग गर्दै महिला प्रतिनिधिको बहिष्कार

पोखरा, भदौ २० ।
सेप्टेम्बर ४ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक तथा दोश्रो विज्ञ सम्मेलनमा महिलाको प्रतिनिधित्व नभएको भन्दै केहि महिला प्रतिनिधिहरुले भेलाको बहिष्कार गरेका छन् । ७० लाखभन्दा बढी सदस्य रहेको एनआरएनएमा झण्डै आधा सदस्य महिला छन् । क्षेत्रिय कार्यक्रम महिलाको प्रतिनिधित्व नहुनु दुखद घटना भएको महिला नेतृत्वहरुको प्रतिक्रिया छ ।

उनीहरुले फेसबुक मार्फत विज्ञप्ती समेत जारी गरेर तत्कालै महिलाको समान उपस्थितिको माग गरेका छन् । ‘एनआरएनएलाई साझा संस्थाको रुपमा स्थापित गर्न, बिगतमा देखिएका कमिकमजोरीहरुलाई सच्चाउदै अगाडि बढ्ने प्रमुख उद्देश्यमा हाम्रो संस्था क्रियाशिल छ,’ एनआरएनए उपाध्यक्ष तथा युवा र महिला विभागकी संयोजक रवीना थापाले भनिन्, ‘संस्थाले गर्ने सबैखाले गतिबीधिलाई सफल बनाउन महिला पुरुष दुवैको समान दायित्व छ । क्षेत्रीय बैठक सहितका बिभिन्न सेसनहरुमा महिलाहरुको सहभागिता नहुनु आफैमा दुखद घटना हो ।’ उनले तत्कालै कार्यक्रम तालिका सच्याएर महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सुझाएकी छिन् ।

महिला विभाग संयोजक भोमा लिम्बुले पनि फेसबुक मार्फत यो कार्यक्रमले महिलाको अपमान भएको प्रतिक्रिया दिएकी छिन् । ‘निशब्द छु । मसँग बोल्ने कुनै आवाज छैन,’ उनले भनेकी छिन्, ‘कम्तिमा ५० प्रतिशत महिला सहभागिता होला भन्ने अपेक्षा थियो । तर त्यो हुन सकेन । अधिकारका बिषयमा वकालत गर्ने यति ठूलो संस्थामा यो अपमान आश्चर्यको कुरा हो ।’

महिला सहभागीता सुनिश्चित नभएपछि क्षेत्रीय महिला संयोजक उमा कार्की र अमेरिका संयोजक दीक्षा बस्नेत लगायतले कार्यक्रम नै बहिष्कार गरेका थिए । ‘हरेक कार्यक्रममा महिलाहरुको प्रतिनिधित्वको बारेमा बोलिरहने म एउटा क्षेत्रीय महिला संयोजक आज आफ्नै क्षेत्रको कार्यक्रममा महिला सहभागिता नहुँदा दुख लागेको छ,’ क्षेत्रिय संयोजक कार्कीले भनिन्, ‘हामी महिलाहरुको योगदानको कुनै कदर छैन । महिलाहरुलाई संस्थामा प्रोत्साहन भन्दा निरुत्साहित पार्ने कामहरु भैरहेको छ । एनआरएनएले महिलालाई नदेखेकै हो त ?’ उनले क्षेत्रिय महिला समितिको तर्फबाट कार्यक्रमप्रति खेद प्रकट गरेकी छिन् ।

क्षेत्रिय यूवा संयोजक विमला सापकोटाले महिलालाई कार्यक्रममा स्विकार नगरेको भन्दै दुख ब्यक्त गरिन् । ‘कस्तो चित्त दुख्ने अवस्था ! आफ्नो छोराछोरी, घरको ब्यबस्थापन्, जागिर, अनि ब्यक्तिगत जीवन त्यागेर संस्थामा मरिमेट्ने महिला अभियान्ताहरुलाई बेवास्ता गर्नु आफैमा विडम्बना हो,’ उनले भनिन्, ‘यति उच्च फोरमहरुमा महिलाको प्रतिनिधित्व नदेख्दा तल्लो तहमा के हाल होला ? के कारणले महिलाको सहभागिता भएन ? स्पष्टीकरण दिनुस् ।’

महिला नेतृहरुको विरोधपछि कार्यक्रममा जानकारी नै नगराई महिलालाई उपस्थित गराईएको थियो । कार्यक्रम जुम प्रविधि मार्फत चलाईएको हो । कार्यक्रम शनिबार सकिने छ ।