एनआरएनएको नेतृत्वमा थापाको दावेदारी

पोखरा, साउन ३१ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्षमा रविना थापाले दावेदारी प्रश्तुत गरेकी छिन् । आगामी अक्टोवरमा हुने निर्वाचनका लागि उनले अध्यक्षको दावी गरेकी हुन् । अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आएकी उनी हाल एनआरएनएको उपाध्यक्ष हुन् । उनी विभिन्न सामाजिक कामहरुमा पनि सक्रिय छिन् ।

‘एनआरएनएको २ दशक लामो इतिहासमा म नयाँ इतिहास बनाउँछु,’ उनले भनिन्, ‘महिला पनि गर्न सक्छन् भन्ने उदाहरणका लागि दावेदारी देखाएको हुँ । मलाई सबैले विश्वास गर्नुहुनेछ ।’ उनी दावेदार मात्रै होईन, बलियो प्रतिश्पर्धी पनि हुन् ।

जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने उनी दोश्रो महिला हुन् । थापा महिला र युवाको पक्षमा निरन्तर आवाज बुलन्द पार्दै नेतृत्वतर्फ अघि बढेकी हुन् । उनी यसअघि जापानमा सामाजिक काममा सक्रिय थिईन् । खासगरी उनले नेपालमा हाइड्रो, शिक्षा लगायत विभिन्न व्यवसायमा संलग्न छिन् ।

आफु अध्यक्ष भएपछि नेपालमा एनआरएनएको भूमिका लगानी र सहयोगसँग जोड्ने उनको भनाई छ । ‘सबैजसो सदस्यहरु विदेशमा कुनै न कुनै पेशा व्यवसायमा आवद्ध छौं । उहाँहरु नेपालमा लगानी गर्न हिचकिचाउनु हुन्छ,’ थापा भन्छिन्, ‘एनआरएनएले लगानीको वाटो खोल्नुपर्छ । सरकारसँग मिलेर महत्वपूर्ण आयोजना सन्चालन गर्न सकिन्छ । त्यसतर्फ अहिलेसम्म खासै ध्यान पुगेको छैन ।’