एक सय आठ जोडीको एउटै मण्डपमा विवाह हुँदै

 

जलेश्वर, मंसिर ९ ।

यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर एक सय आठ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।

माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा एक सय आठ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।

जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै एक सय आठ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए ।

उनले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताएको छ ।

प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन् ।
(रासस)