एक्याप खारेजीको माग गर्दै पुनः तालाबन्दी (भिडियो सहित)

पोखरा, पुस ४ ।
आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेजीको माग गर्दै अन्नपूर्ण गाउँपालिकाका यूवाहरुले बीरेठाँटी चेकपोष्टमा पुनः तालाबन्दी गरेका छन् । बुधबार गाउँपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडाका यूवाहरुले चेकपोष्टमा तालाबन्दी गरेका हुन् ।

नेपालीलाई मनपरी प्रवेश शुल्क लिएको गुनासो गर्दै दुईसाता अघि सोही ठाउँमा स्थानीयले तालाबन्दी गरेका थिए । पछि दुईपक्षीय बार्तामा सहमति भएको भन्दै ताला खुलेको थियो । तर यूवाहरुले सीमित ब्यक्तिले गरेको सहमति नमान्ने भन्दै पुनः तालाबन्दी गरेका हुन् ।

स्थानीय अतित गुरुङले संघर्ष समितिका सीमित ब्यक्तिसँग भएको सहमति स्थानीयको हितमा नभएकोले पुनः तालाबन्दी गरिएको बताए । ‘पहिले गाउँले बटुलेर तालाबन्दी गर्ने । खोल्ने बेलामा चाहीँ २ जना मान्छे बसेर सहमति गर्ने?, उनले भने–यो सहमति हामीलाई मान्य छैन । सबैको अगाडी बसेर यसबारे सार्वजनिक रुपमै छलफल हुनुपर्छ ।’

अर्का स्थानीय विष्णु गुरुङले पनि एक्याप खारेजीको माग सहित तालाबन्दी गरिएको बताए । ‘एक्यापका कारण स्थानीयलाई निकै सास्ती भएको छ । हाम्रो ठाउँबाट पैसा उठाएर हाकिम मोटाउँछन्, गाउँलेलाई केही न केही, उनले भने–आफ्नै बारीमा घाँस काट्न पनि पुर्जी लिनुपर्ने ? आफ्ना पाहुना बोलाउँदा पनि एक्यापलाई प्रवेश शुल्क तिर्नुपर्ने ?’

यसअघि एक्यापको विरुद्ध संघर्ष समिति गठन गरेर आन्दोलन भएको थियो । शनिबार बार्ता बसेपछि आईतबार खुलेको थियो । तर बुधबार पुनः तालाबन्दी गरिएको हो ।