एक्यापमा चुलिँदो आक्रोश–बोर्ड उखेलेर फ्याँकिदिए स्थानीयले

पोखरा, पुस ७ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापनाको करिब ३५ बर्ष हुनै लाग्यो । लामो समयसम्म स्थानीयले वनजंगल देखि जनावरहरुको संरक्षण गरिरहे । तर आफूँहरुले हुर्काएको र संरक्षण गरेको श्रोत साधन उपभोग गर्न नपाएको आरोप लगाउँदै स्थानीयले एक्याप कार्यालयमाथी आक्रोश पोख्न थालेका छन् ।

खासगरि सरकारले एक्याप प्रबेशमा नेपालीसँग शुल्क लिन थालेदेखि उनीहरुको आक्रोश चुलिएको हो । ३ साताअघि स्थानीयले बीरेठाँटी चेकपोष्टमा तालाबन्दी गरे । त्यसपछि केही सहमति गरेर ताला खोलियो । अर्काथरीले चाहीँ सहमति नै चित्त नबुझेको भन्दै बुधबार पुनः ताला ठोकिदिए ।

बीरेठाँटीमा ताला लगाएको भोलिपल्ट पोथनाको चेकपोष्टमा पनि ताला लगाए । शुक्रबार एक्यापले स्थानीयसँग बार्ता बस्यो । तर सहमति भएन । स्थानीयले बीरेठाँटीमा भएको एक्यापको बोर्ड उखेलेर बार्ता टोलीको गाडीमा हालिदिए ।

स्थानीयहरुले कुनैपनि हालतमा अन्नपूर्ण गाउँपालिकामा एक्याप रहन नदिने अडान लिएका छन् । उनीहरुले एक्याप हटाउने एक शुत्रीय माग लिएर आन्दोलनमा छन् ।